अमरराज नहर्की
तनहुँ, पुस २५ गते । प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल मर्मत सुरु गरिएको छ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने त्रिशूली नदीमाथिको पुल मर्मत सम्भार गर्ने कार्य धमाधम भइरहेको छ । आगामी माघे सङ्क्रान्ति मेलामा आउने भक्तजनको चाप र सुरक्षालाई दृष्टिगत गर्दै पुलको जीर्णोद्धार थालिएको हो ।
सहरी विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास विभाग, सस्पेन्सन ब्रिज डिभिजन ललितपुरले यसको मर्मत कार्य अघि बढाएको हो । मर्मतका लागि बिहीबारदेखि पुस २७ गतेसम्म दैनिक बिहान १० देखि अपराह्न ४ बजेसम्म पुलमा आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ ।
काठमाडौँस्थित आर.ए.एस फाउन्डेसनले तीन लाख रुपियाँको लागतमा पुलको मर्मत, रङरोगन र सरसफाइको जिम्मा लिएको छ । मर्मतका क्रममा पुलका ५६ वटा नयाँ डेक (पाता) फेर्ने, सस्पेन्सर कस्ने, नट–बोल्ट मजबुत बनाउने र रङरोगन गर्ने कार्य गरिने फाउन्डेसनले जनाएको छ । वि.सं. २०३७ मा निर्मित यो पुल ४४ वर्ष पुरानो भइसकेको छ ।
जोखिममा ४४ वर्ष पुरानो संरचना पैदल यात्रीका लागि मात्र डिजाइन गरिएको भए पनि पछिल्लो समय अनियन्त्रित रूपमा मोटरसाइकल सञ्चालन गरिँदा पुल थप जीर्ण बनेको हो । सम्भावित दुर्घटना रोक्न केही दिनदेखि मोटरसाइकल आवतजावतमा रोक लगाइएको छ ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. ईश्वरराज लौडारीका अनुसार यो पुलमा अत्यधिक भीड हुँदा एकै पटक ५०० भन्दा बढी मानिस आवतजावत गर्छन् । जसले गर्दा पुल पिङजस्तै हल्लिने गरेको छ । लौडारीले भन्नुभयो, “मेलाको समयमा एकै पटक धेरै मानिस तर्दा ठुलो जोखिम हुन्छ, त्यसैले यसको मर्मत अनिवार्य छ ।’’
देवघाट आउने करिब ९५ प्रतिशत भक्तजनले चितवनको आँपटारी हुँदै यही पुल प्रयोग गर्ने गरेका छन् । सामान्य दिनमा पाँच हजार र मेलाका समयमा दैनिक २५ देखि ३० हजारसम्म सर्वसाधारणले यो पुल प्रयोग गर्ने गरेका छन् । ४४ वर्षको अवधिमा यो पुलबाट करिब तीन करोडभन्दा बढी मानिसले आवतजावत गरिसकेको दाबी गरिएको छ ।
ठिमुरा, दासढुङ्गा र नवलपुरको हर्दीमा मोटरेबल पुल सञ्चालनमा रहे पनि पैदल यात्रिका लागि यो पुल नै सबैभन्दा छोटो र मुख्य मार्ग हो । पुराना संरचनाका कारण कुनै पनि समय दुर्घटना हुन सक्ने भएको मोटर गुड्ने पुल बनाउन माग राखिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा बताउनुभयो । पुल निर्माणका लागि ठुलो रकम आवश्यक पर्ने भएकाले सार्मथ्य नभएकोले सङ्घ तथा प्रदेश सरकारसँग बजेटको माग गरिएको अध्यक्ष थापा बताउनुहुन्छ ।