जनार्जन खत्री
सर्लाही, पुस २५ गते । सर्लाहीको बागमती नदी तटीय क्षेत्रमा अहिले माघे सङ्क्रान्तिमा फलाहारको रुपमा खाइने तरुल खन्ने चटारो छ । किसानबाट केही समयअघि नै हरियो बोट हुँदै खरिद गरेको तरुल व्यापारीले मजदुर लगाएर धमाधम खन्ने काम गरिरहेका हुन् । सर्लाहीमा बागमती र बरहथवा नगरपालिकाको बागमती नदी तटीय क्षेत्रमा व्यावसायिक रुपमा तरुल खेती हुने गरेको छ ।
धमाधम मजदुर लगाएर तरुल खनिरहेका व्यापारीलाई काठमाडौँ पुर्याएर तरुल बेच्न उत्तिकै भ्याइनभ्याइ छ । माघे सङ्क्रान्ति आउन अब एक साता मात्रै बाँकी छ । बागमती नगरपालिका–४, जिरायतका किसान विशाल वाइबाले आफूले यो वर्ष पाँच कठ्ठामा रोपेको तरुल व्यापारीलाई ७० हजार रुपियाँमा बिक्री गरेको जानकारी दिनुभयो । जमिनभित्र रहेको तरुल के कति फलेको छ भन्ने थाहा नहुने भएकाले व्यापारीले बोट हेरेर मूल्य लगाउने गरेको वाइबाको भनाइ छ ।

बाक्लो र मोटो बोट भएको ठाउँमा व्यापारीले पाँच कठ्ठाको तरुललाई एक लाख २० हजारसम्म मूल्य दिएका किसानले बताएका छन् । बागमती बगरको नदी तटीय क्षेत्रमा आफू पनि तरुल खेती गर्ने र अन्य किसानबाट समेत तरुल किन्नुहुने जिरायतकै नरेश महतोले यो वर्ष तरुलले राम्रो मूल्य नपाएको गुनासो गर्नुभयो ।
सर्लाहीदेखि काठमाडौँको कालिमाटी तरकारी बजारसम्म पुर्याउदा तरुल प्रतिकेजी ५० देखि ६० रुपियाँसम्ममा बिक्री भइरहेको उहाँले बताउनुभयो । खुद्रामा उपभोक्ताले खरिद गर्दा दोब्बर बढी मूल्य तिर्नु परे पनि यहाँदेखि आफूहरुले लगेर थोक व्यापारीलाई तरुल बेच्दा मूल्य नै नपाएको महतोको गुनासो छ ।

बागमती फाँटमा धमाधम तरुल खन्ने काम भइरहँदा सयौँ मजदुरले तरुल खनेरै राम्रो आम्दानी गरिरहेका छन् । सर्लाहीको दक्षिणी भेगका विभिन्न गाउँबाट युवादेखि वृद्ध उमेरका मानिस तरुल खन्न बागमती क्षेत्रमा आइपुगेका छन् । बागमतीमा तरुल खन्दै गर्दा भेटिनुभएका चक्रघट्टा गाउँपालिका–२, बेल्हीका ६६ वर्षीय उपेन्द्र रामले एक क्विन्टल तरुल खन्दा व्यापारीले आठ सय रुपियाँ दिने गरेको बताउनुभयो ।
रामका अनुसार एक जना मजदुरले दिनमा टेढ क्विन्टलसम्म तरुल खन्छन् । माघे सङ्क्रान्तिसम्म तरुल खनेर घर फर्किने रामले बताउनुभयो । सर्लाहीको बागमती, राजघाट, सोल्टी, हजरिया, बरहथवालगायत क्षेत्रमा धेरै किसानले तरुल खेती गर्ने गरेकोमा पछिल्लो समय भने तरुल खेती गर्न छाडेर वर्णसङ्कर (हाइब्रिड) मकैको खेती गर्न थालेका छन् ।





