• २६ पुस २०८२, शनिबार

सामुदायिक कुकुर व्यवस्थापनमा समस्या

blog

तम्घास समाचारदाता

तम्घास (गुल्मी), पुस २५ गते  । गुल्मीको सदरमुकाम तम्घासमा सामुदायिक कुकुर व्यवस्थापन गर्न सकस भएको छ । सडकचोक नै ढाक्ने कुकुर व्यवस्थापन हुन नसक्दा सवारीचालक तथा विद्यालय जाने विद्यार्थीलाई त्रास पैदा भएको गुनासो गर्दै आएका छन् । 

सदरमुकाम तम्घासमा व्यापार गर्दै आउनुभएका जनक पन्तले तम्घास बजारमा भुस्याहा कुकुर भुकेका कारण राति आनन्दसँग सुत्नसमेत नपाएको गुनासो गर्नुभयो । सडकमा सवारी चलाउँदा छाडा कुकुरका कारण थप दुर्घटना निम्त्याउने जोखिम बढेको र रातको समयमा सडकमै कुकुर भुक्ने र व्यक्तिको पिछा लाग्ने भएका कारण पनि ज्यान बचाउनै समस्या हुने गरेको उहाँको भनाइ छ । 

रेसुङ्गा नगरपालिका–१ का अनिल कुँवरले राति घर जाँदा र आउँदा पनि बाटोका कुकुरले झम्टिने भएका कारण चुनौती देखिएको र यसको व्यवस्थापनमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउनुभयो । 

रेसुङ्गा नगरपालिका, पशुसेवा शाखाका हिक्मतसिंह महराका अनुसार गाउँबाट तम्घासमा छाडा कुकुर आउने र उनीहरूले बच्चा जन्माउने भएका कारण समस्या भएको बताउनुभयो । नगरभित्र रहेका छाडा कुकुरलाई स्थायी बन्ध्याकरण गर्दै आए पनि गाउँबाट आउने कुकुरको सङ्ख्यामा वृद्धि भएका कारण व्यवस्थापनमा समस्या भएको उहाँको भनाइ छ । 

रेसुङ्गा नगरपालिकामा दर्ता भएका घरपालुवा कुकुर हालसम्म पनि नवीकरण भएका छैनन् । पशु विकास शाखाका अनुसार गत आर्थिक वर्षमा ४७ वटा घरपालुवा कुकुर दर्ता भएका भए पनि हालसम्म कुनैको पनि नवीकरण भएको छैन । नवीकरण गर्नका लागि आग्रह गर्दै आए पनि नवीकरण हुन नसकेको र अहिले सूचना जारी गरेको महराले बताउनुभयो ।

घरपालुवा कुकुर दर्ताका लागि नगरपालिकाले तीन सय रुपियाँ र नवीकरणका लागि एक सय रुपियाँ शुल्क निर्धारण गरेको छ । गत आवमा नगरपालिकाले १०७ कुकुरको स्थायी बन्ध्याकरण गरेको पशु विकास शाखाले जनाएको छ ।