दाङ समाचारदाता
दाङ, पुस २५ गते । दाङको राजपुर गाउँपालिका–२, बेलाकी कैलाशपति चौधरीका पति गुरुप्रसाद चौधरी गाउँकै चिनिएका घर बनाउने मिस्त्रीका गुरु हुनुहुन्थ्यो । जीवनभर अरूका घर बनाउँदै बिताउनुभएका गुरुप्रसादले आफ्नै परिवारका लागि भने राम्रो घर बनाउन सक्नुभएको थिएन । दिनभरको मजदुरीबाट आएको पैसा परिवारको खाद्यान्न, लत्ताकपडा र छोराछोरीको पढाइमै सकिन्थ्यो । घर बनाउने इच्छा हुँदाहुँदै पनि आँट गर्न सक्ने अवस्था थिएन ।
छोराछोरी हुर्किंदै गएपछि गुरुप्रसादले घर बनाउने योजना बनाउनुभयो । करिब सात वर्षअघि फागुन–चैततिर उहाँले नौ–दस हजार इँटा जम्मा पार्नुभयो । कात्तिक–मङ्सिरमा घर बनाउने सोच थियो तर त्यो सपना अधुरै रह्यो । २०७५ जेठ २८ गते नाबालक छोरासहित गाउँनजिकैको खोलामा माछा मार्न गएका गुरुप्रसादले खोलोमा फालेको जाल अड्किएपछि पानीभित्र अड्किएको जाल निकाल्ने क्रममा डुबेर अकालमै बित्नुभयो ।
घरबाट एकैछिनमा एक छाक माछा लिएर फर्किन्छु, साँझका तरकारी बनाउनु भनेर माछा मार्न गएका श्रीमान् नफर्किएपछि कैलाशपतिको जीवनमा अँध्यारो छायो । श्रीमान् गुमाएपछि चार छोरी र एक छोराको सम्पूर्ण जिम्मेवारी कैलाशपतिको काँधमा आयो । त्यसमाथि उहाँहरू बस्दै आएको घर गाउँकै ठुलो कुलोको ढिकमा थियो, जहाँ हरेक वर्ष बाढी पस्थ्यो । फुसको छाना र सिठाले बेरिएको बार भएको घर हरेक वर्ष बर्खायाममा डुबानमा पथ्र्यो भने हावाहुरी आउँदा सिठाले बेरिएको घर उड्ला जस्तो हुन्थ्यो । यही समस्याबाट बच्न गुरुप्रसादले इँटा तयार पार्नुभएको थियो तर घरमुली नहुँदा ती इँटा प्रयोगमै आएनन् ।
अहिले ग्रामीण महिला उत्थान केन्द्रले घरविहीन तथा अति विपन्न एकल महिला र १६ वर्षमुनिका बालबालिकाका लागि सञ्चालन गरेको सुरक्षित आवास कार्यक्रम अन्तर्गत कैलाशपतिका लागि भूकम्प प्रतिरोधात्मक पक्की घर निर्माण गरिदिएको छ । सात वर्षअघि श्रीमान्ले देखेको घर बनाउने सपना पूरा भएपछि अहिले कैलाशपतिको मुहारमा खुसी छाएको छ ।
“श्रीमान्ले बनाउन खोजेको घर त्योबेला बनेन तर आज पूरा भएको छ,” भावुक हुँदै उहाँले भन्नुभयो, “मैले घर बनाउन सक्छु भनेर कल्पनासमेत गरेकी थिइनँ तर सोचेको भन्दा राम्रो घर पाएँ ।