गुणबहादुर रोका
सुलीकोट, पुस २५ गते । उत्तरी गोरखाको विश्वप्रसिद्ध हिमाली गन्तव्य मनास्लु संरक्षण क्षेत्रले सन् २०२५ को एक वर्षमा प्रवेश शुल्कबाट झण्डै चार करोड रुपियाँ आम्दानी गरेको छ। पर्यटक आगमन उल्लेख्य रूपमा बढेसँगै मनास्लु संरक्षण क्षेत्रको आर्थिक आम्दानी अभूतपूर्व रूपमा वृद्धि भएको हो ।
एक वर्षको अवधिमा मनास्लु क्षेत्र घुम्न आएका १४ हजार ९८० जना पर्यटकबाट कुल तीन करोड ८५ लाख ८६ हजार रुपियाँ प्रवेश शुल्क सङ्कलन गरिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) गोरखाका प्रमुख सन्तोष सेरचनले जानकारी दिनुभयो।
उहाँका अनुसार नेपाली पर्यटक २४० जनाबाट प्रतिव्यक्ति २०० रुपियाँका दरले ४८ हजार, सार्क राष्ट्रका ३४४ जना नागरिकबाट प्रतिव्यक्ति १ हजारका दरले तीन लाख ४४ हजार रुपियाँ र अन्य विदेशी १४ हजार ७३८ जना पर्यटकबाट प्रतिव्यक्ति तीन हजारका दरले तीन करोड ८१ लाख ९४ हजार रुपियाँ सङ्कलन गरिएको हो ।
मनास्लु क्षेत्र पदयात्रामा आउने पर्यटकका लागि अनिवार्य रूपमा अनुमति लिनुपर्ने व्यवस्था रहेको बताउँदै प्रमुख सेरचनले भन्नुभयो, “अनुमति शुल्क नै मनास्लु क्षेत्रको मुख्य आम्दानीको स्रोत हो । यसका साथै होटल, लज, गाइड, भरिया र यातायात सेवामार्फत स्थानीय अर्थतन्त्र पनि चलायमान बनेको छ।”
एमक्याप गोरखाका अनुसार गत वर्षको तुलनामा यस वर्ष मनास्लु क्षेत्रमा पर्यटक आगमन झण्डै ४० प्रतिशतले वृद्धि भएको छ। चुमनुब्री गाउँपालिका–१ मा रहेको यो संरक्षण क्षेत्र कठोर भू–स्वरूप, अद्भुत प्राकृतिक सम्पदा, विविध सांस्कृतिक विरासत र विश्वकै मनमोहक पदमार्गका कारण पर्यटकको रोजाइमा पर्दै आएको छ।
सरकारद्वारा घोषित संरक्षित क्षेत्रहरूमध्ये मनास्लु हिमाली क्षेत्र पछिल्लो समय तीव्र रूपमा पहिचान बनाउँदै गएको छ। हिमाल आरोहण र पदयात्रा दुवैका लागि सुरक्षित, साहसिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण गन्तव्यका रूपमा यसको प्रतिष्ठा अन्तर्राष्ट्रिय यात्रु समुदायमा बढ्दै गएको छ ।
वर्षौंदेखिको निरन्तर प्रवर्द्धन, यातायात तथा सञ्चार पूर्वाधार विस्तार र स्थानीय समुदायको आतिथ्य संस्कृतिले पर्यटकमैत्री वातावरण निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको एमक्याप गोरखा कार्यालयले जनाएको छ ।
मनास्लु संरक्षण क्षेत्रले दिगो पर्यटन र वातावरण संरक्षण दुवै क्षेत्रमा बलियो सम्भावना बोकेको पुष्टि गरेको छ । प्राकृतिक सम्पदाको संरक्षणसँगै स्थानीयको आर्थिक उन्नतिमा उल्लेखनीय योगदान दिँदै आएको यस क्षेत्रले मनास्लुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको आकर्षक गन्तव्यका रूपमा थप सुदृढ बनाएको छ ।
मनास्लु संरक्षण क्षेत्रबाट सङ्कलित झण्डै चार करोड रुपैयाँले संरक्षण र विकासलाई सँगसँगै अघि बढाउन महत्त्वपूर्ण योगदान पुग्ने प्रमुख सेरचनले बताउनुभयो ।