मुसीकोट समाचारदाता
रुकुमपश्चिम, पुस २५ गते । आगामी प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि रुकुमपश्चिमका क्रियाशील राजनीतिक दलले धमाधम उम्मेदवार सिफारिस गरेका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलले उम्मेदवार सिफारिस गरेका हुन् ।
नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका लागि प्रेमप्रकाश ओली, गोपालजीजङ्ग शाह र लेकमाया केसीलाई सिफारिस गरेको पार्टीका प्रवक्ता लालबहादुर ओलीले जानकारी दिनुभयो । उम्मेदवार सिफारिस भएका ओली जिल्ला सभापति, शाह पूर्वराज्यमन्त्री र केसी महासमिति सदस्य हुनुहुन्छ । त्यसै गरी रािष्ट्रय सभा सदस्यको उम्मेदवारमा पार्टीका पूर्वजिल्ला उपसभापति वीरबहादुर ओलीलाई सिफारिस गर्ने निर्णय भएको प्रवक्ता ओलीले जनाउनुभयो ।
नेकपा (एमाले) ले पार्टीका जिल्ला अध्यक्ष नन्दराम देवकोटालाई प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदवार बनाउने एकल सिफारिस गरेको छ । रािष्ट्रय सभा सदस्यका लागि पार्टीका सल्लाहकार समिति सदस्य गोविन्दबहादुर केसीलाई उम्मेदवार बनाउने निर्णय भएको जिल्ला अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । नेपाली कम्युनिस्ट पार्टीले पनि प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदवारमा गोपाल शर्मालाई एकल सिफारिस गरेको छ भने रािष्ट्रय सभामा बुद्धिप्रसाद गौतमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शर्मा कर्णाली प्रदेश सरकारको पूर्वआर्थिक मामिला तथा योजनामन्त्री हुनुहुन्छ भने गौतम साबिक माओवादी केन्द्रको केन्द्रीय सदस्य हुनुहुन्छ ।
त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि जिल्लाबाट तीन जनाको नाम प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टीका युवा नेता निर्जल केसीका अनुसार दीपककुमार मल्ल, सौरेन्द्रबहादुर शाह र गोपाल खड्काको नाम सिफारिस गर्ने निर्णय जिल्ला पार्टीले गरेको छ । प्रगतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) लगायतका दलले भने हालसम्म प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेका छैनन् ।
प्रत्यक्षतर्फको उम्मेदवार सिफारिसको समयावधि बाँकी रहेकाले केही दिनमै टुङ्गो लगाइने यी दलले जनाएका छन् । रास्वपाका जिल्ला उपसभापति रिमप्रसाद शर्माले एक साताभित्र प्रत्यक्षतर्फको उम्मेदवारको सिफारिस गरिसक्ने जानकारी दिनुभयो ।
कालीकोटबाट शाही सिफारिस
कालीकोट समाचारदाताका अनुसार नेकपा (एमाले) कालीकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरेको छ । काठमाडौँमा गरिएको सिफारिसमा विवाद भए पनि बुधबार जिल्लामा बसेको जिल्ला कमिटीको बैठकले केन्द्रीय सदस्य नगिन्द्र शाहीको नाम सिफारिस गरेको हो ।
उम्मेदवारका लागि १२ जनाको दाबी हुँदा काठमाडौँमा तीन दिनसम्म छलफल गर्दा पनि सहमति नभएपछि अध्यक्ष तुलाराज मल्लले शाहीसहित तीन जनाको नाम सिफारिस गर्नुभएको थियो । अध्यक्षलाई अधिकार दिएको भनिए पनि आकाङ्क्षी अर्का केन्द्रीय सदस्य मीनबहादुर शाही, इन्दिरा सन्ज्याल, काशीचन्द बराल र रमेश शाहीले विरोध जनाउनुभएको थियो । काठमाडौँमा रहनुभएका अध्यक्ष मल्ल, नेपालगन्जमा रहनुभएका उपाध्यक्ष, उपसचिवलगायत केही जिल्ला कमिटीका सदस्य सहभागी बैठकले तीन जनाको नाम बदर गर्दै शाहीलाई एकल सिफारिस गरेको सचिव पुष्पराज आचार्यले बताउनुभयो ।