• २६ पुस २०८२, शनिबार

टोप्ला–जाजरकोट सडक निर्माण हुँदै

blog

सिँजा समाचारदाता 

सिँजा (जुम्ला), पुस २५ गते । कर्णाली प्रदेशको जुम्ला र जाजरकोट जोड्ने सडकको टोप्ला–इमिच्छा–जाजरकोट सडकखण्ड निर्माण हुने भएको छ । जुम्लाको त्रिवेणी–इमिच्छा–जाजरकोट जोड्ने सडक अन्तर्गत टोप्ला–इमिल्छा हुँदै जाजरकोट जोड्ने सडक निर्माण गरिने भएको हो । 

सुर्खेतको छिन्चु जोड्ने छोटो मार्गका रूपमा रहेको यो सडक टोप्ला–इमिच्छा–जाजरकोटसम्म सडक पूर्वाधार विकास कार्यालय जुम्लाले निर्माण गर्ने भएको छ । उक्त सडक निर्माणका लागि बहुवर्षीय योजनाका रूपमा स्रोत सुनिश्चित गर्दै कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षमा १५ करोड ९० लाख बजेट विनियोजन गरेको छ । सोही बजेट अन्तर्गत सडक विस्तारको काम अघि बढाउन पूर्वाधार विकास कार्यालय जुम्लाले ठेक्का आह्वान गरिसकेको छ । 

त्रिवेणी हुँदै टोप्ला–इमिच्छा सडक निर्माण भइसकेको छ । उक्त सडकखण्डको त्रिवेणीदेखि टोप्लासम्म बिचको खण्डमा सडक डिभिजनले निर्माण गरेको छ । सडक विस्तारले पर्यटकीय क्षेत्र नदैडाबको प्रवर्धनमा समेत टेवा पुग्ने छ । टोप्लादेखि जाजरकोटको सीमाक्षेत्र जोड्ने सडक पूर्वाधार विकास कार्यालय जुम्लाले निर्माण गर्दै आएको छ । चालु आवमा विनियोजन भएको बजेटबाट निर्माण प्रक्रिया अघि बढाइएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रूपक रावलले बताउनुभयो । न्यून बजेटबिच कर्णालीको कठिन भूगोलमा नागरिकको चाहना अनुसार मापदण्डविपरीत सडक निर्माण गर्नुपर्ने बाध्यता छ ।

उहाँले टोप्ला–इमिच्छा–जाजरकोट सडक निर्माणका लागि ठेक्का गरिसकेको बताउनुभयो । टोप्ला–इमिल्चामा १५ करोड बढी बजेट सुरुको विनियोजन भएको छ । सीमित बजेटबाटै काम अघि बढाएको उहाँले जनाउनुभयो । बहुवर्षीय योजनाका रूपमा रहेको सो सडकमा १५ करोडभन्दा बढी स्रोत सुनिश्चित भए पनि अन्य जिल्लाको तुलनामा जुम्लामा न्यून विकास बजेट विनियोजन हुने गरेको छ । चिसो बढेसँगै निर्माण सबै रोकिएका छन् । ठेक्का प्रक्रिया टुङ्ग्याएर निर्माण व्यवसायीसँग सम्झौता गर्दै, साइट दिँदै हिउँदपछि काम सुरु गर्ने तयारी छ ।