अजय शाह
गौशाला(महोत्तरी), पुस २५ गते । महोत्तरीमा आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षा दृष्टिले संवेदनशील तयारी गरिएको छ । जिल्लाका अधिकांश मतदानस्थलहरू संवेदनशील तथा अतिसंवेदनशील वर्गमा परेकाले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गराउन सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ ।
जिल्ला सुरक्षा निकायका अनुसार महोत्तरीमा कूल २५८ वटा मतदानस्थल कायम गरिएका छन् । तीमध्ये १६३ वटा मतदानस्थललाई अतिसंवेदनशील वर्गमा राखिएको छ भने ८९ वटा मतदानस्थल संवेदनशील वर्गमा र जम्मा ६ वटा मतदानस्थल मात्रै सामान्य वर्गमा परेका छन् । यो तथ्याङ्कले महोत्तरीमा निर्वाचन सुरक्षाको चुनौती कति गम्भीर छ भन्ने स्पष्ट रूपमा देखाएको छ ।
महोत्तरी जिल्ला नेपालको दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने भएकाले यहाँको भौगोलिक अवस्था विशेष रूपमा संवेदनशील मानिन्छ । जिल्लाको पूर्व–दक्षिण, दक्षिण तथा पश्चिम–दक्षिण भूभाग करिब १४ किलोमिटर लामो खुला सीमा भारतसँग जोडिएको छ । सात वटा स्थानीय तहहरू सिधै भारतीय सीमासँग जोडिएका कारण खुला सिमानाको आवतजावत, सम्भावित अवाञ्छित गतिविधि तथा विगतका निर्वाचनमा देखिएका विवाद र झडपका घटनाहरूलाई ध्यानमा राख्दै अधिकांश मतदानस्थललाई उच्च जोखिममा वर्गीकरण गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरीमा कूल ५३६ वटा मतदान केन्द्र तोकिएका छन् । जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाका अनुसार मतदानस्थल र मतदान केन्द्रको सङ्ख्या मतदाताको चाप, भौगोलिक पहुँच, जनघनत्व र सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै निर्धारण गरिएको हो ।
महोत्तरी जिल्लामा चार वटा निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा ५९ वटा मतदानस्थल र १३० वटा मतदान केन्द्र कायम गरिएको छ । यस क्षेत्रका केही स्थानहरू सीमावर्ती तथा विगतमा विवादित भएकाले यहाँ विशेष सुरक्षा व्यवस्था मिलाइने तयारी गरिएको छ । त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर २ मा ६२ वटा मतदानस्थल र १३३ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
त्यस्तै, निर्वाचन क्षेत्र नम्बर ३ मा सबैभन्दा बढी ७७ वटा मतदानस्थल र १४२ वटा मतदान केन्द्र कायम गरिएको छ । यस क्षेत्रमा जनसङ्ख्या घनत्व बढी हुनुका साथै सीमावर्ती प्रभाव पनि देखिने भएकाले सुरक्षामा थप कडाइ गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्वाचन क्षेत्र नम्बर ४ मा ६० वटा मतदानस्थल र १३१ वटा मतदान केन्द्र रहेका छन् ।
जिल्ला निर्वाचन अधिकारी झाका अनुसार यस पटकको निर्वाचनमा महोत्तरी जिल्लाबाट कूल चार लाख ३१ हजार २८२ जना मतदाताले मतदान गर्ने अनुमान गरिएको छ । पुरुष, महिला तथा अन्य मतदातालाई सहज रूपमा मतदान गर्न मिल्ने वातावरण सिर्जना गर्न निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र स्थानीय तहबिच समन्वय भइरहेको छ ।
सुरक्षा संयन्त्रले अतिसंवेदनशील र संवेदनशील मतदानस्थलहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यकताअनुसार नेपाली सेना समेत परिचालन गरिने जनाएको छ । साथै, सीमा क्षेत्रमा कडाइ, नियमित गस्ती, निगरानी तथा शङ्का लागेका गतिविधिमाथि तत्काल कारबाही गर्ने रणनीति अपनाइनेछ ।
समग्रमा, महोत्तरी जिल्लामा आगामी प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रशासनिक, सुरक्षात्मक र प्राविधिक तयारी तीव्र पारिएको छ । चुनौतीहरू भए पनि सबै पक्षको सहकार्यबाट निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न हुने विश्वास गरिएको छ ।