नेत्र शाही
जुम्ला, पुस २५ गते । जनगणना–२०७८ अनुसार नेपालमा खस भाषा बोल्नेको पहिचान हुनुका साथै भाषा बोल्नेको सङ्ख्या पनि बढेको छ । पछिल्लो जनगणनामा खस भाषीको छुट्टै तथ्याङ्क लिएकोमा सङ्ख्या बढेको पाइएको हो । तथ्याङ्क समन्वय कार्यालय जुम्लाले जनगणना–२०७८ अनुसार खस भाषा बोल्नेलाई समेट्न थालेको जानकारी दिएको छ । कार्यालय प्रमुख दीपेन्द्रसिंह धामीका अनुसार जनगणना अनुसार नेपालमा खस भाषा बोल्नेको सङ्ख्या एक लाख १७ हजार ५११ रहेको छ । कर्णाली प्रदेशमा खस भाषी सबैभन्दा बढी छन् । कार्यालयका अनुसार कर्णालीमा एक लाख सात हजार ८४ जनामध्ये महिला ५३ हजार ८२६ तथा पुरुष ५३ हजार २५८ जना रहेका छन् ।
कार्यालय प्रमुख धामीका अनुसार जनगणना–२०७८ मा विभिन्न १२४ मातृभाषालाई समेटिएको छ । जसमा खस भाषा बोल्ने सबैभन्दा धेरै जुम्लामा रहेका छन् । जुम्ला नेपाली भाषाको उद्गम थलो पनि हो । कार्यालयका अनुसार २०७८ को जनगणनामा जम्मा खस भाषीमध्ये जुम्लामा ६० हजार ५४२ जना अर्थात् ५१.२ प्रतिशत रहेका छन् । कालीकोटमा ३८ हजार २३ जना अर्थात् २६.२ प्रतिशत, मुगुमा ६.७ प्रतिशत र हुम्लामा ५.७ प्रतिशत खस भाषा बोल्ने रहेको पााइएको छ ।
अघिल्ला जनगणनामा खस भाषा अभिलिखित भएको थिएन । जनगणना–२०६८ मा कर्णालीमा खस भाषा बोल्ने व्यक्ति केवल ३४ जना मात्रै समेटिएपछि तीव्र आलोचना आएको थियो तर २०७८ मा मातृभाषा खस बोल्नेको तथ्याङ्क ह्वात्तै बढेको पाइएको छ । जुम्ला बहुमुखी क्याम्पसका प्रमुख प्रकाशचन्द्र खत्रीका अनुसार खस भाषा बोल्ने व्यक्ति जनगणनामा अघिल्ला वर्षमा नसमेटिए पनि पछिल्लोमा बढेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले कर्णालीवासी सबैले खस भाषा बोल्ने गर्दछन् तर जनगणनामा मातृभाषा खस टिपाउन छुटेको भन्दै अब सङ्ख्या पनि बढेको हुँदा मातृभाषा संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो ।
अघिल्ला जनगणनामा खस भाषा नसमेटिएकाले विभिन्न स्थानबाट आवाज उठेपछि २०७८ मा खस भाषा समेटिने गरी तयार गरिएको थियो । आगामी जनगणनामा कर्णाली प्रदेशले मातृभाषा संरक्षण गर्न जोड दिनुपर्ने उहाँको भनाइ छ । कर्णाली प्रदेशका जुम्ला, हुम्ला, कालीकोट, मुगु, डोल्पामा धेरै जसो मातृभाषा खस बोल्ने गरिन्छ तर पनि जनगणनामा मातृभाषा टिपाउन छुटेको पाइन्छ । यति मात्रै होइन, सुदूरपश्चिममा पनि खस भाषा बोल्ने गरिन्छ तर जनगणनामा टिपाउन छुटेको तथ्याङ्क समन्वय कार्यालय प्रमुख धामीको भनाइ छ ।