• १३ साउन २०८१, आइतबार

भानु जन्मस्थलको गुरुयोजना

blog

कुनै पनि योजनालाई डिजाइन गरी चरणबद्ध विकास योजना, बजेट व्यवस्थापन, कार्यान्वयन तालिका साथै योजनाको उद्देश्य-प्रतिफल आदि समावेश गरिएको दस्तावेजलाई नै गुरुयोजना मानिन्छ । गुरुयोजनामा वर्तमान परिस्थिति-अवस्थितिको समीक्षा, टोपोग्राफिक सर्वेक्षण, नक्साको तयारी, परियोजना क्षेत्रको सबल, दुर्बल र चुनौतीको विश्लेषण, अवधारणाको विकास, विस्तृत योजना प्रतिवेदन तयार, पुँजी लगानी र कार्यान्वयन रणनीति रहेका छन् । 

हालसम्म विश्वमा उत्कृष्ट र सफल कार्यान्वयन भएका र हाम्रो धरातलीय अवस्थामा अनुकूल हुने गुरुयोजनाहरूको अध्ययन गरी विशेषत लुम्बिनी विस्तृत गुरुयोजनाको समेत अनुसरण गरी, भानु साहित्य उद्यान तनहुँले गुरुयोजनाको अवधारणा तयार गरी सार्वजिनकसमेत गरेको छ । यस अवधारणालाई मुर्त रूप दिन, नेपाल प्रज्ञा प्रतिष्ठानको संयोजकत्व एवं भानु साहित्य उद्यान, तनहुँ÷भानु नगरपालिकाको सहकार्यमा गत जेठ महिनामा मात्रै नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौँमा गुरुयोजना परामर्श गोष्ठीसमेत सम्पन्न भइसकेको अवस्था छ । उक्त गोष्ठीमा राजनीतिक, साहित्यिक, सांस्कृतिक नेपाल सरकारका महìवपूर्ण निकायका प्रतिनिधि, समाजसेवी, उद्यमीहरूको उपस्थिति थियोे । उक्त गुरुयोजना परामर्श गोष्ठीबाट आएका महìवपूर्ण सुझावहरू, गुरुयोजना तर्जुमा गर्दा कार्यान्वयन गर्ने गरी अघि बढाएको छ । थप सुझावहरूका लागि सम्पूर्ण कला, संस्कृति, भाषा, देश विदेशका नेपाली भाषा प्रेमीहरूलाई अनुरोध गरिएको छ । यसबाट गुरुयोजनाले मूर्त रूप लिने आशा गर्न सकिन्छ । 

नेपालका राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्य (१८७१–१९२५) द्वारा नेपाली भाषामा लिखित ‘रामायण’ नेपालका हिमाल, पहाड र तराई–मधेशलाई सामाजिक तथा सांस्कृतिक हिसाबले भावनात्मक रूपमा जोड्ने राष्ट्रिय एकताको सबल साझा कडी बनेको छ तर भानुको जन्मथलो÷ चुँदीरम्घा गाउँमा भौतिक रूपमा हालसम्म प्रभावकारी विकास हुन नसकेको अवस्थामा गुरुयोजनाको अवधारणा र वर्तमान अवस्थालाई विश्लेषण गर्नु वाञ्छनीय ठानी यो अवधारणा निर्माण गरिएको हो । 

भानु साहित्य उद्यान, तनहुँले मूलतः चुँदीरम्घा डाँडो पूरै र वरपरका क्षेत्रका करिब चार सय रोपनी जग्गा प्राप्ति, भानुको विशाल शालिक र नेपालका मूर्धन्य सहित्यकारहरूको मूर्ति स्थापना, रामायण मन्दिर निर्माण र रामायणको अक्षराङ्कन तथा सचित्र झलक, भानुभक्तका अन्य कृति, जीवन चरित्र र भानुकालीन घरबस्ती, कला, संस्कृतिको झलक, समग्र नेपालको प्रतिमूर्तिका रूपमा नेपालमाता भवन निर्माण उद्देश्य राखेको छ । यसका साथै नेपालका सातै प्रदेशको प्रतिनिधित्व हुनेगरी सप्तधाम निर्माण, भानु सर्किटको पहिचान तथा विस्तार र अध्ययन अनुसन्धानको उत्कृष्ट प्राज्ञिक केन्द्र बनाउने गरी यसलाई अघि बढाइएको छ । गुरुयोजना तर्जुमा गरी माथि उल्लिखित विभिन्न क्रियाकलापलाई बहुवर्षीय योजनाका रूपमा विभिन्न चरणमा कार्यान्वयन गर्दै जाने यस साहित्य उद्यानको लक्ष्य रहेको छ । 

भानु साहित्य उद्यानको सक्रियतामा भानु नगरपालिका वडा ४ स्थित चुँदी रम्घा डाँडाको जग्गाहरू प्राप्त गर्न गुरुयोजनाको प्रारम्भिक अवधारणा प्रस्ताव पेस भएकोमा भानु नगरपालिकाको नाममा नेपाल सरकारबाट आ.व ०७८÷७९ मा रु. एक करोड बजेट निकासा भइसकेको र अर्को एक करोडको स्रोत सुनिश्चितता भइसकेको छ । चार सय रोपनी जग्गाप्राप्ति र अन्तिम गुरुयोजना तयार गर्ने प्रक्रिया भानु नगरपालिकाले अघि बढाइसकेको छ । 

अन्तिम गुरुयोजना तयार भएपछि विभिन्न दाताहरू (स्वदेश-विदेश) बाट सहयोग लिने सम्बन्धमा यकिन हुने र हाल नेपाल सरकारको लगानी बिना अत्यावश्यक पूर्वाधारको विकास असम्भव भएकाले गुरुयोजनाअनुसारका कार्य सम्पन्न गर्न वर्तमान अवस्थामा करिब रु. ६० करोडको बजेट अनुमान गरी नेपाल सरकारसँग बजेट निकासाका लागि अनुरोध गरिएको छ । हाल पहिलो चरणमा चार सय रोपनी जग्गा प्राप्ति र गुरुयोजनाको विस्तृत प्रतिवेदन तयार गर्न एवं परामर्शदाताहरूको आह्वानका लागि प्रक्रियासमेत अघि बढाइएको अवस्था छ । 

भौगोलिक अवस्थिति 

जग्गाप्राप्तिसँगै संस्थाका अन्य उद्देश्यलाई भौतिक स्वरूप दिन, जग्गा विकास गर्न, प्रत्येक संरचनाका लागि स्थान निर्दिष्ट गर्न र दीर्घकालीन सोचलाई कार्यान्वयन गर्दै जान गुरुयोजना आवश्यक हुन्छ । भानु साहित्य उद्यानले नेपाल सरकारको नीतिबमोजिम भौतिक, जैविक, सामाजिक–आर्थिक–सांस्कृतिक पक्षको वातावरणीय प्रभावसमेत ख्याल गरी गुरुयोजनाको विस्तृत प्रतिवेदन तयार गर्न भानु नगरपालिकालाई उपयुक्त परामर्श प्रदान गरी आदिकवि भानु जन्मस्थल विकास समिति, तनहुँसँग सहकार्य - समन्वय गरी कार्य अघि बढाइने छ । साथै गुरुयोजना समावेश हुने मुख्य कार्यहरूमा भानुभक्तको मूर्ति स्थापना (रम्घा डाँडामा), रामायण मन्दिर निर्माण, भानु कालीन बस्तीको पुनस्र्थापना, सप्तघाम, महìवपूर्ण अन्य साहित्यकारको मूर्ति, योजना क्षेत्रमा अत्यावश्यक भौतिक पूर्वाधार निर्माण सडक, खानेपानी योजनालगायत रहनेछन् । 

तनहुँ जिल्लाको भानु नगरपालिकाको वडा नं ४, चँुदी रम्घा-भानु जन्मस्थल, पृथ्वीराजमार्गको उत्तरतर्फबाट डुम्रे–चन्द्रावती–कालीमाटी सडकबाट करिब ११ कि.मी. उत्तर (आठ कि.मी. कालोपत्रे र तीन किमी कि.मी. ग्राभेल) सडक पर्दछ । यस क्षेत्रका सम्पूर्ण भू–भाग पहाडी क्षेत्र रहेको र यातायात तथा खानेपानीको समस्या प्रमुख भएकोले उक्त क्षेत्रमा ज्यादै न्यून बस्ती रहेको छ ।

गुरुयोजना तर्जुमा तथा कार्यान्वयनपश्चात् यस क्षेत्रको साहित्यिक पर्यटनबाट उल्लेखनीय विकास हुने अपेक्षा गरिएको छ । भानुले हालसम्म पनि साहित्यिक पर्यटनको रूपमा आफ्नो चिनारी बनाउन सकेको छैन । भानुको जन्मस्थललाई नेपालको मात्रै नभई नेपाली भाषीकै लागि पर्यटकीय स्थल बनाउन सक्नुपर्ने हो । भानुको जन्मजयन्ती नेपालबाहिर समेत मनाइन्छ । यस्तो व्यक्तिको जन्मस्थान पर्यटकीय स्थल नहुनु निकै नै दुःखद कुरा हो । भानुको जन्म दिनको यस अवसरमा यस पक्षमा समेत राज्यका सम्बद्ध निकायले सोच्नुपर्ने हो । 

गुरुयोजना क्षेत्रको भौगोलिक अवस्था

यसअन्तर्गत पहिलो चरणमा जग्गा प्राप्ति, दोस्रो चरणमा तयारी, तेस्रो चरणमा प्रतिवेदन तयारीका लागि परामर्शदाता, चौथो चरणमा संरचना निर्माणका लागि बोलपत्र आह्वान र पाँचाँै चरणमा भौतिक संरचना निर्माण रहेका छन् । नेपालका राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँ चुँदी रम्घामा प्रस्तावित गुरु योजनाको अवधारणालाई सम्पूर्ण नेपालीहरूको सांस्कृतिक भावनालाई समेटी एवं मजबुत बनाई साहित्यिक तीर्थस्थल तथा सांस्कृतिक एकता केन्द्रको रूपमा विकास गर्नुपर्छ । यसका लागि भानु नगरपालिका, आदिकवि भानु जन्मस्थल विकास समिति र यस भानु साहित्य उद्यानलगायत सम्पूर्ण देश-विदेशमा रहने नेपाली भाषी÷नेपालीहरूको सुझाव सल्लाह र सहयोगले मात्र गुरुयोजनाले मूर्त रूप लिन सक्ने अपेक्षा गरिएको छ । गुरुयोजनालाई कार्यान्वयनमा लैजाने हो भने भानुको जन्मस्थलले त ऐतिहासिक फड्को मार्ने छ नै नेपाली साहित्यको विकासमा समेत यसले टेवा पुग्नेछ ।