• २४ पुस २०८२, बिहिबार

ताप्लेजुङका २८ मतदानस्थल अति सम्वेदनशील

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस २२ गते । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यका लागि तोकिएका ताप्लेजुङका अट्ठाइस वटा मतदानस्थल अति सम्वेदनशील सूचीमा रहेका छन् । जिल्लाका लागि कायम भएका ८० मध्ये उक्त सङ्ख्यामा मतदानस्थल अति सम्वेदनशील सूचीमा रहेका हुन् ।

जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार यस जिल्लाका लागि ८० वटा मतदानस्थल र १२७ वटा मतदान केन्द्र कायम भएका छन् । जिल्लाका लागि कायम भएका ८० वटा मतदान स्थलको अवस्था र सम्वेदनशीलताका आधारमा गरिएको वर्गीकरण अनुसार २८ वटा स्थल अति सम्वेदनशील सूचीमा रहेको प्रजिअ सेढाइँले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँकी २५ वटा मतदानस्थल सम्वेदनशील र २७ मतदानस्थल सामान्य सूचीमा परेका छन् । यसअघि २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ताप्लेजुङमा ७५ वटा मतदानस्थल रहेका थिए । यसपटक पाँच वटा थप भई मतदानस्थलको सङ्ख्या ८० पुगेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदानस्थल भएसँगै मतदान केन्द्र पनि थप भएर १२७ पुगेको छ ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बान्दवराज दुलाल (विपिन) का अनुसार आगामी निर्वाचनका लागि जिल्लामा मतदाताको सङ्ख्या पनि वृद्धि भएर कुल ९० हजार ३२७ पुगेको छ । कुल मतदाता सङ्ख्यामध्ये पुरुष ४८ हजार २८५ र महिला ४२ हजार ४२ जना रहेका दुलालले जानकारी दिनुभयो । २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा यहाँ ८८ हजार २८५ मतदाता रहेका थिए । आगामी फागुन २१ मा हुने निर्वाचनका लागि जिल्लामा दुई हजार ४२ जना नयाँ मतदाता थपिएका छन् ।