• २४ पुस २०८२, बिहिबार

मानिस मार्ने बाघको खोजी तीव्र

blog

केही वर्ष अघि क्यामेरा जडान गरेर नियन्त्रणमा लिइएको बाघ ।

सिराज खान

नेपालगन्ज, पुस २२ गते । बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत राप्तीसोनारी गाउँपालिका–१, कुसुमस्थित सौरी क्षेत्रमा मानिसलाई आक्रमण गरेर ज्यान लिने बाघको खोजी कार्यलाई तीव्र पारिएको छ । 

गत शनिबार गाई चराउन जङ्गलमा जानु भएका सौरी निवासी ६२ वर्षिय मरिचमान भण्डारीमाथि बाघले आक्रमण गर्दा उहाँको मृत्यु भएको थियो । सो घटनापछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । 

स्थानीयमा त्रास बढेपछि बाँके राष्ट्रिय निकुञ्ज प्रशासनले घटनालाई गम्भीर रूपमा लिँदै थप जोखिमबाट स्थानीयलाई जोगाउन क्यामेरामार्फत बाघको खोजीसँगै उक्त क्षेत्रमा अनुगमन बढाएको छ ।

बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले घटनास्थल वरपर पाँच वटा सिसी क्यामेरा जडान गरी बाघको खोजी र निगरानी निरन्तर भइरहेको बताउनु भयो । सो क्षेत्रमा हालसम्म बाघको उपस्थिति पुनः नदेखिएको बताउनु भयो । 

उहाँका अनुसार बाघ आक्रमणको घटनापछि पुनः त्यही क्षेत्रमा नफर्किएकाले आहारा खोज्दै अन्यत्र सरेको हुनसक्ने अनुमान गरिएको छ । सोही प्रकारले सौरी र आसपासका बस्तीमा वन क्षेत्रमा जाने विषयमा स्थानीयमा डर र सतर्कता बढेको छ ।

बाँके निकुञ्ज प्रशासनले निकुञ्ज वरिपरि बसोवास गर्ने स्थानीयलाई समूहमा मात्र जङ्गल जान, साँझपख वन क्षेत्र नछिर्न र शङ्कास्पद गतिविधि देखिए तुरुन्त जानकारी गराउन आग्रह गरेको छ ।

निकुञ्जले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि थप निगरानी, जनचेतना र समन्वयात्मक उपायहरू अघि बढाइरहेको पनि जनाएको छ । स्थानीय तहसँगको सहकार्यमा जोखिम क्षेत्र पहिचान गरी आवश्यक सतर्कता अपनाइने निकुञ्जको योजना रहेको छ ।