रमेश पौडेल
पोखरा, पुस २२ गते । स्थानीय तहले प्रयोग गर्दै आएको सफ्टवेयर प्रणालीले काम गर्न नसक्दा सेवाग्राहीहरु मर्कामा परेका छन् । पुस मसान्त भित्रमा विभिन्न किसिमका राजस्व तिर्नुपर्ने भएपनि राजस्व तिर्न गएका सेवाग्राहीले राजस्वसमेत तिर्न नपाएपछि थप आक्रोशित बनेका छन् ।
नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गत महालेखा नियन्त्रक कार्यालयबाट प्रदान गरिएको स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) सफ्टवेयरले काम गर्न नसक्दा कर्मचारीहरु समेत हैरानीमा परेका छन् । पोखरा महानगरपालिका वडा ९ का सन्त बहादुर गुरुङले पाँच पटक वडा धाउँदा पनि सेवा लिन नपाएको गुनासो राख्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो कस्तो सरकार हो, पैसा तिर्छुभन्दा पनि तिर्न नपाउने,’ ६५ वर्षीय गुरुङ थप्नुहुन्छ, ‘सफ्टवेयर भन्ने म जान्दिन, सेवा हुनुप¥यो, समय बितेपछि जरिवान लिन पाइदैन ।’ त्यस्तै सबै फाइल बोकेर व्यवसाय कर तिर्न आउनुभएका क्रस रोड थकाली किचनका सञ्चालक एवम् रेवान पोखराका महासचिव विरेन थकाली पनि काम नभई फर्कनुभयो । उहाँले आक्रोश पोख्ने ठाउँ पाउनुभएन् । वडा ९ का सचिव कुलराज पौडेलसँग केबल एक जवाफ थियो, ’हाम्रो क्षमताभन्दा बाहिरको कुरा हो, हामी आएका छौँ, काममा खटेका छौँ तर के गर्ने सिस्टम चल्दैन ।’
देशभर महालेखाले ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४८ मा सो सुत्र प्रयोग ल्याएको छ, जसमा पोखरा महानगरले पनि सो सफ्टवयर प्रयोग गरेको छ । उक्त सफ्टवेयरको प्रयोग अन्य ५ वटा महानगरले गरेका छैनन् । उनीहरुले आफ्नै सफ्टवेयर प्रयोग गरेका छन् ।
सफ्टवेयर नचल्दा राजस्व संकलन समेत प्रभावित भएको पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले जानकारी दिनुभयो । सफ्टवेयर प्रणालीको क्षमता विकास गरी द्रूत सेवा दिनका लागि मन्त्रालय र महालेखामा पटक– पटक अनुरोध गर्दै आएको उहाँको भनाइ छ । पोखरा महानगरपालिका वडा नं १३ का वडा अध्यक्ष किरण बरालले सफ्टवेयर नचल्दा वडाबासीलाई समयमा सेवा दिन नसकेको भन्दै महानगरमा ज्ञापनपत्रसमेत बुझाएको बताउनुभयो ।
त्यसैगरी वडा ९ का अध्यक्ष दिपेन्द्र मर्सानीले वडाबाट राजस्व लिन नसक्दा घर–जग्गा बेचबिखन गर्ने र खरिद गर्ने व्यक्तिले जनप्रतिनिधिमा आक्रोश व्यक्त गरेको बताउनुभयो । महानगरको हरेक वडाले सम्पत्ति कर, व्यवसाय कर, वाहाल करलगायत सिफारिस दस्तुर सोही सुत्रमार्फत संकलन गर्ने गरेका छन् । यस आ.व.बाट सुरु भएको सो प्रणालीलाई चुस्त रुपमा प्रयोगमा ल्याउन सके निकै प्रभावकारी हुने पोखरा महानगरका आर्थिक प्रशासन माहाशाखा प्रमुख जयराम पौडेलले बताउनुभयो ।
सो सफ्टवेयरबाट खर्च र आम्दानीको विवरण गर्न पाउने हुँदा यसको प्रभावकारिता राम्रो भएतापनि एकैपटक धेरै युजरआइडी प्रयोगमा आउँदा प्रणालीले थेग्न नसकेको उहाँले स्वीकार गर्नुभयो । अहिले पुरानो सफ्टवेयरबाट नयाँ सफ्टवेयर सुत्रमा ल्याउँदा समय लागेको उहाँको भनाइ छ । महानगरभित्र झण्डै १ लाख ४० हजार सेवाग्रही समाहित हुनुपर्ने व्यवस्था छ । तर हालसम्म करिब ६५ हजार सेवाग्राहीभन्दा बढीलाई समेट्न नसकिएको उहाँले बताउनुभयो ।
पोखरा महानगरको कूल बजेट ८ अर्व ३५ करोडमध्ये आन्तरिकतर्फ ३ अर्व २३ करोड अनुमान गरिएको हालसम्म ५२ करोड भन्दा बढी संकलन भएको छ । एकातर्फ जेनजी आन्दोलनका कारण महानगरका हरेक संरचना ध्वस्त भए भने प्रयोगमा रहेको सफ्टवयेरको ढिलाइका कारण पनि लक्ष्य अनुसारको राजस्व संकलन नहुदा भुक्तानी प्रणाली पनि प्रभावित भएको पौडेलले बताउनुभयो । पुस मसान्तभित्र तिर्नुपर्ने राजस्व तिरेमा १० प्रतिशत छुट हुने हुँदा सेवाग्राहीको भिड बढेको बताउँदै थप तिन महिनासम्म सो समय बढाउने विषयमा छलफल भएको जानकारी उहाँले दिनुभयो ।