सन्तोष राउत
सोलुखुम्बु, पसु २२ गते । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा ६ रन्देपुमा मुक्ली बाढी पीडितलाई नेपाली कांग्रेस सोलुखुम्बुले राहत रकम वितरण गरेको छ । गएको भदौ १ र २ गते आएको भारी वर्षाका कारण खेतीपाती तथा घरबासमा क्षति व्यहोरेका मुक्लीका प्रभावित ५७ परिवारलाई राहत वितरण गरिएको हो ।
बाढीका कारण बालीनाली, खेतवारी र घरै समेत गुमाएका परिवारका लागी नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि नवीन थापा तथा तरूण दल सचिव शेखर बस्नेतले सञ्चालन गरेको अभियान मार्फत सङ्कलन गरेको दुई लाख ६८ हजार रुपियाँ रकम सहयोग गरिएको हो ।
काङ्ग्रेसले क बर्गका बाढी प्रभावितहरू दुई घरलाई १०-१० हजार रुपियाँ, ख बर्गका प्रभावितहरू पाँच घरलाई ७-७ हजार र ग वर्गका बाढी प्रभावित ५० घरहरूलाई ५-५ हजार रुपियाँ आर्थिक सहयोग गरिएको महाधिवेशन प्रतिनिधि थापाले बताउनुभयो ।
राहत वितरण गर्दै नेपाली काङ्ग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङबु शेर्पाले बाढीका कारण नोक्सान बेहोरेका स्थानीयलाई राहात उपलब्ध गराउन पाउँदा खुशी लागेको बताउँदै गाउँपालिकाले विपद व्यवस्थापनको प्रभावकारी योजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।
त्यस क्रममा जिल्ला समन्वय समिति प्रमुख कृष्ण प्रसाद निरौलाले बाढी पीडितहरूको घाउमा मल्हमपट्टी लगाउन प्रयास गरिएको उल्लेख गर्नुभयो । महाधिवेशन प्रतिनिधि नवीन थापा र काङ्ग्रेस प्रदेश क उपसभापति फुर्तिमान तामाङले गाउँपालिकाले विपदको क्षेत्रमा काम गर्न ध्यान दिन पालिकालाई आग्रह गर्नुभयो ।
थुलुङ दुधकोसी गाउँपालिका सभापति भक्तबहादुर गुरुङ, तरुण दल केन्द्रिय सदस्य अस्वीन बाबु थापा, कैलाश केसी लगायतका स्थानीय नेताहरुको समन्वयमा राहात वितरण गरिएको हो ।