शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, पुस २२ गते । प्रहरीले गएराति टोखा नगरपालिका–९, गोङ्गबुस्थित दीपसागर होटलबाट लागु औषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का २६ वर्षीय महेन्द्र तामाङ र बागलुङको ढोरपाटन नगरपालिकाकी २२ वर्षीया निरूता अदेही मगरलाई छ ग्राम ४४० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले सो होटलको ५१५ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी नियन्त्रणमा लिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
यसैबिच देशका विभिन्न स्थानबाट लागु औषधसहित २५ जना पक्राउ परेको प्रहरीले जनाएको छ । झापा, दाङ, सुनसरी, मोरङ, रूपन्देही, सिराहा, कैलालीलगायत जिल्लाबाट उनीहरू पक्राउ परेका हुन् । रासस