लीलाराज खड्का
बिर्तामोड, पुस २२ गते । झापाको बुद्धशान्ति गाउँपालिका –३ को एक कृषकको खेतमा जङ्गली हात्ती मृत फेला परेको छ । मंगलबार बिहानै मृत जंगली हात्ती देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको सिमास्थित कालिका सिमसार जाने बाटोमा स्थानीय लालबहादुर रसाइलीको खेतमा फेला परेको उक्त जंगली हात्तीको दाह्रा भने नभएको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय झापाका प्रमुख नथुनी यादवले गोरखापत्रलाई बताउनुभयो ।
हात्ती के कारणले मरेको हो भन्नेबारेमा थप अनुसन्धान गर्न कोशीटप्पु वन्यजन्तु संरक्षणबाट वनविज्ञ टोलीलाई बोलाइसकिएको डिभिजन वन कार्यालय प्रमुख यादवले बताउनुभयो । हात्तीको दाह्रा नपलाएको प्रारम्भिक अनुसन्धानले देखाएको र घाउचोट समेत नदेखिएकाले खानेकुरामा विष मिलाएको हुनसक्ने आशङ्का गरिएको वन कार्यालयका प्रमुख यादवले बताउनुभयो ।
अहिले डिभिजन वन कार्यालय र प्रहरीको टोली घटनास्थलमा पुगेर आवश्यक मुचुल्का उठाउने काम गरिरहेको छ । इलाका प्रहरी कार्यालय बुधवारेका प्रमुख प्रहरी नायब निरीक्षक चन्द्र राउतसहितको प्रहरी टोली पनि घटनास्थलमा पुगेर अनुसन्धान थालेको जनाएको छ ।
झापामा पछिल्लो पटक मानव–हात्ती द्वन्द्वका कारण बर्सेनि मानव र हात्तीको मृत्यु हुँदै आइरहेको छ । यस पटक एक जङ्गली हात्तीको मृत्यु भएको छ ।