• २३ पुस २०८२, बुधबार

क्यान्सर पीडितलाई सहयोग गर्न क्यान्सर विजेताद्वारा साइकल यात्रा

blog

मध्य पहाडी लोकमार्गमा साइकल यात्रामा निस्किएको क्यान्सर विजेताको टोली । तस्बिर : कविराज घिमिरे

कविराज घिमिरे 
हिले, पुस २
 गते । क्यान्सर प्रभावित विपन्न परिवारलाई सहयोग जुटाउने उद्देश्यले मध्य पहाडी लोकमार्गको यात्रा सुरु गरेको क्यान्सर विजेताको टोली धनकुटा आइपुगेको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर पाँचथरस्थित उत्तर पूर्वी सिमाना चिवा भञ्ज्याङबाट जनवरी १ मा यात्रा सुरु गरेको टोली पाँचथर र तेह्रथुमको यात्रा पूरा गरी धनकुटा आइपुगेको हो ।

क्यान्सर विजेता तथा लिड राइडर हर्क लामाको अगुवाइमा सुरु भएको यस अभियानमा अर्की क्यान्सर विजेता तथा लिड राइडर कविता चित्रकारसहित जम्मा ८ जना साइक्लिङमा सहभागी  छ । साइकल यात्राको संयोजन डा. तारालाल श्रेष्ठले गर्नुभएको छ ।

साइकल कल्चर कम्युनिटी र धुलिखेल अस्पतालको सहकार्यमा सञ्चालन भइरहेको यो अभियानको मुख्य उद्देश्य धुलिखेल अस्पतालमा उपचार गराउन आउने क्यान्सर प्रभावित विपन्न नागरिकका लागि कोष सङ्कलन गर्नु रहेको संयोजन डा. तारालाल श्रेष्ठले जानकारी दिनुभयो । यात्राको क्रममा टोलीले विभिन्न स्थानमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरसम्बन्धी जनचेतना कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । धनकुटाको लेगुवामा करिब २५ जना महिला दिदीबहिनीलाई लक्षित गर्दै अन्तरक्रियात्मक जनचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

पश्चिम बैतडीको झुलाघाटसम्मको करिब १८ सय किलोमिटर लामो मध्य पहाडी लोकमार्गको यात्रा साइकलमार्फत करिब एक महिनामा पूरा गर्ने लक्ष्य राखिएको छ ।