उर्लाबारी समाचारदाता
उर्लाबारी (मोरङ), पुस २२ गते । कृषिमा यान्त्रिकीकरण सुरु भएसँगै परम्परागत रूपमा माटोको काम (माटो काट्ने, पोखरी खन्ने, डाँडाकाँडा बिराएर खेतीयोग्य जमिन बनाउने) गर्दै आएका अल्पसङ्ख्यक ऋषिदेव (मुसहर) बेरोजगार भएका छन् ।
जमिनका नाममा पाँच/छ धुर ऐलानी माटोमा घामपानीसम्म छल्ने घर बनाएर बसेका ऋषिदेव पछिल्लो समय बेरोजगार भएका छन् । कृषि क्षेत्रमा आधुनिक प्रविधि भित्रिएपछि ऋषिदेव हुन थालेका हुन् ।
स्थानीय सरकारले जनता आवास कार्यव्रmम अन्तर्गत घर बनाएर राखिदिए पनि रोजगार गुमेपछि उनीहरू कामको खोजीमा भारततिर जान्छन् र उतै हराउँछन् । मोरङको कानेपोखरी–५, भौँसाबारीका ४५ वर्षीय अच्छेलाल ऋषिदेवले भन्नुभयो, “गाउँमा काम नै छैन । खेत सबै ट्याक्टरले जोत्छन् । एक्साभेटर र जेसिबी गाउँ गाउँमा छन् । पोखरी खन्ने, सडकमा माटो भर्ने काम पाउनै छाड्यो । अरू काम जानेको छैन । जङ्गल खुला हुँदा दाउरा बेचेर घर चलायौँ । तर अहिले जङ्गल पस्न सामुदायिक वनले दिँदैन । काम नपाएपछि केटाहरू भारततिर कृषि मजदुरी गर्न जान थालेका छन् । बुढापाका पनि बिरक्तिएर घर छाडेर हिँड्छन् ।”
राम ऋषिदेव भन्नुहुन्छ, “बेरोजगार भएपछि मुसहर बस्तीका धेरै तन्नेरी भारत पलायन भएका छन् । घरमा भोकभोकै बस्नुभन्दा दुई चार पैसा कमाइ हुने सपना बोकेर बिनायोजना, बाटोघाटो नबुझिकन भारत जान्छन् । भारत पसेका दुई जना त अझैसम्म गाउँ फर्किएका छैनन् ।” उहाँले आफू पनि आठ महिना सडकमा बेवारिसे भएर ठुलो हन्डर खेप्दै नेपाल फर्किएको बताउनुभयो । राजेश ऋषिदेवले गाउँ छाडेको १७ वर्ष भयो । बिचमा एक पटक आएर परिवारै लिएर भारत पसेका राजेशले त्यसपछि गाउँघरका आफन्त कसैलाई सम्पर्क गर्नुभएको छैन । छ वर्षअघि घर छाडेर हिँडेका ३८ वर्षीय चन्द्र ऋषिदेवले गएदेखि एक पटक पनि सम्पर्क गर्नुभएको छैन । उहाँ कमाउन भारतको कोइलाखाद जानुभएको थियो । छोरी चन्दाले भन्नुभयो, “फोन पनि आउँदैन । पैसा पनि पठाउनुभएको छैन ।” चन्द्रसँगै भारत छिरेका अच्छेलालले भन्नुभयो, “भारतको हावडामा टिटीले रेलबाट झारिदियो । म बचेँ । त्यसपछि चन्द्र सम्पर्कविहीन छन् । अच्छेलालले आफू रेल्बे स्टेसनमा केरा बेचेर घर फर्कने भाडासम्म जोहो गरेर फर्कन सफल भएको बताउनुभयो ।
रामप्रसाद ऋषिदेव भन्नुहुन्छ, “आफूले पढेको छैन । आफूले जानेको काम गाउँतिर पाउनै मुस्किल हुन थाल्यो । गाउँका जग्गा सबै प्लटिङ भइसक्यो । अलि अलि बाँकी भएको जग्गामा ट्याक्टर र एक्साभेटर लगाएर माटोको काम गर्छन् । अनि भारत नगएर के गर्नु ?”
रामप्रसादले पनि छोरीलाई साउदी अरब पठाउनुभयो तर छोरी साउदी अरब कसरी पुगिन भन्ने उहाँलाई केही थाहा छैन । उहाँ भन्नुहुन्छ, “गाउँमै विदेश पठाइदिने भन्दै एजेन्ट आए । मैले पठाइदिएँ ।” विदेशबाट बल्ल बल्ल फर्किएका युवा पनि धेरै जसो बिरामी भएर फर्किन्छन् । आठ वर्षसम्म बेखबर भएर आएको छोरो श्यामको घर फर्किएको चार महिनापछि मृत्यु भएको ६६ वर्षीय रुद्नी ऋषिदेवको भनाइ छ । उहाँले भन्नुभयो, “छोरो आउँदा खुसी त भएँ तर घरमा भएका सुँगुर, कुखुरा, हाँस सबै बेचेर उपचार गर्दा पनि बचाउन सकिनँ ।” रुद्नी यस्तो पीडा खेप्ने एक उदाहरण मात्रै हुनुहुन्छ ।
भौँसाबारीमा २०५८ सालको हैजा र कालाजारले १६ जनाको ज्यान लिएर गाउँ नै सखाप पा¥यो । बुढापाका, अधबैँसे, केटाकेटी कसैलाई छोडेन कालाजारले । विगत स्मरण गर्दै जयकुमार ऋषिदेव भन्नुहुन्छ, “त्यो बेला त कसैले सहयोग गरेन । अहिले त सबै ठिकै छ । बाँचेकै छौँ । दुःखसुख भात खाएकै छौँ ।” उहाँले जसको सरकार भए पनि गरिबको पीडा कसैले नबुझेको तिक्तता व्यक्त गर्नुभयो ।
पाखुरामा बल छउन्जेल गाउँमा सबैको हाइहाइ बनेका उपेन्द्र ऋषिदेव वृद्ध भएपछि हराउनुभयो । उहाँले वृद्ध भत्ता पनि पाउनुहुन्थ्यो तर उहाँ हराएको चार वर्ष भयो, मरेको÷बाँचेको अत्तोपत्तो छैन ।