हरिप्रसाद कोइराला
उर्लाबारी (मोरङ), पुस २२ गते । निर्माणाधीन पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपाखेरी–पथरी खण्डमा पर्ने मोरङ्गीखोलाको पुल भासिएपछि राजमार्ग अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय पथरीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालका अनुसार मोरङ्गी पुलको दक्षिण पश्चिम भागमा काम भइरहेका बेला पुल र सडकसँग जोडिएको माटो बगेपछि पुलको दक्षिण भाग भासिएको छ । आइतबार साँझ ६ः३० बजेतिर काम गर्दैगर्दा पुल भासिएपछि प्रहरीले ठुला सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । हाल पुलको उत्तरतर्फबाट एकतर्फी साना सवारीसाधनलाई मात्र सञ्चालन हुन दिइएको छ । पूर्वबाट पश्चिम जाने ठुला सवारीसाधन पथरीबाट १० किमी उत्तर जाँते पुगेर मदन भण्डारी राजमार्ग हुँदै लेटाङ पुग्ने र त्यहाँबाट दक्षिण कानेपोखरी आएर निर्माणाधीन सडकमा जोडिएका छन् । पश्चिमबाट पूर्व आउने सडक कानेपोखरीबाट उत्तर गई जाँते पुगेर दक्षिण आई पथरीमा जोडिएका छन् ।
काँकडभिट्टा–लौकही सडक योजना पश्चिम खण्ड कार्यालय इटहरीका आयोजना प्रमुख जगत प्रजापतिले जमिन सतहबाट निकै उचाइमा पुल रहेकाले काम गर्ने व्रmममा माटो बगेको बताउनुभयो । उहाँले भन्नुभयो, “जमिन सतहबाट १९÷२० फिट उचाइमा पुल छ । माटो पनि खुकुलो रहेछ, त्यसैले माटो बगेपछि पुल भासियो ।” उहाँले आइतबार रातिदेखि नै ठुला सवारीसाधन वैकल्पिक मार्गबाट आवतजावत गरिरहेको र पुलको दक्षिणतर्फबाट डाइभर्सन खोल्ने काम भइरहेको बताउनुभयो ।
स्थानीय कुलबहादुर कटवालले भन्नुभयो, “२०२८ सालमा सडकको नक्साभित्र पुल निर्माण गर्न नसकेर पुल दक्षिण सारेर निर्माण गरिएको थियो । बाह्रै महिना पानी नसुक्ने मोरङ्गीखोलाको राजमार्ग आसपासको माटो अत्यन्तै खुकुलो रहेको र जमिनमुनि पानीको सतह धेरैमाथि रहेकाले काम गर्न उसबेला पनि जोखिम भएको थियो ।”