बाजुरा समाचारदाता
बाजुरा, पुस २२ गते । बाजुराको खप्तड छेडेदह–३ र बुढीगङ्गा नगरपालिकाका–४ को बिचमा पर्ने बार्जुगाडखोलामा पुल सञ्चालनमा नआउँदा स्थानीयलाई खोला तर्न निकै सास्ती हुने गरेको छ ।
बेतालमान्डौ, झाली, पुडावाउला, बानेगाउँ, गुइवन हुँदै आटीचौर सडकमा सवारीसाधन आउजाउ सहज बनाउन २०७६ सालमा ठेक्का लिएको साउद एडभेन्चर जेभीले २०८१ सालमै निर्माण सम्पन्न गरे पनि सो पुल अझै सञ्चालन भएको छैन । पुलको दुई साइडमा ग्याबिन नभरेका कारणसञ्चालनमा आउन नसकेपछि यहाँका स्थानीयलाई आउजाउमा सास्ती भइरहेको छ । खप्तड छेडेदह गाउँपालिका–३, पुडावाउँलाबाट विद्यार्थी बुढीगङ्गा नगरपालिका–५ मा रहेको भानोदय माविमा पढ्न जाने गर्छन् । बर्खाको समयमा बार्जुगाड खोला उर्लेर आउने गरेकाले आउजाउ गर्न समस्या हुन्छ । खोलामा पुल नभएकै कारण २०८० असार १० गते एक जनाको ज्यान गएको थियो ।
सरकारले २०७६ असारमा बार्जुगाड खोलामा ४५ मिटर पक्की पुल निर्माण गर्न सुरु गरेको हो । पुल निर्माण पूरा भएकाले सञ्चालनमा अब आफूहरूको कुनै जिम्मेवारी नरहेको साउद एडभेन्चर जेभीका प्रोप्राइटर ईश्वर साउदले बताउनुभयो । पुल निर्माणको काम बल्ल पूरा भयो । अब त्यो पुलवरिपरि ग्याबिन राख्नु पर्छ । गत वर्षमा २० लाख रुपियाँले एक साइडको ग्याबिन भरिएको थियो । अहिले पनि त्यसैको हाराहारीमा रकम छुट्याइएको छ । केही दिनमा ठेक्का दिएर काम सुरु हुन्छ । यो वर्ष जसरी भए पनि त्यो पुल सञ्चालनमा ल्याउने तयारी भएको भौतिक पूर्वाधार विकास कार्यालय अछामका कार्यालय प्रमुख जगबहादुर थापाले बताउनुभयो ।