• २३ पुस २०८२, बुधबार

ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टनको तयारी पूरा

blog

काठमाडौँ, पुस २१ गते । ललितपुर ब्याडमिन्टन सङ्घ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता मङ्गलबारबाट हुने भएको छ । 

पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिता ललितपुरस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा  हुने छ । ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन रहने प्रतियोगितामा पुरुष एकल र महिला एकल खुला, शीर्ष वरीयताका २० बाहेकको पुरुष युगल, यु–१७ पुरुष तथा महिला एकल खुला, ४५ वर्ष माथिको मास्टर युगल खुला गरी ६ विधामा दुई सय २६ खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक सुमित शाक्यले जानकारी दिनु भयो । 

अघिल्ला तीन संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको प्रतियोगिताको अनुमानित लागत ३२ लाख २० हजार पाँच सय रुपियाँ रहेको छ । प्रतियोगिताको पुरस्कार राशी चार लाख २५ हजार रुपियाँ रहेको छ ।  यस संस्करणमा पुरुष एकल, महिला एकल र पुरुष युगल तर्फको पुरस्कार राशीमा बृद्धि गरिएको सचिव रदीप महर्जनले जानकारी दिनु भयो । 

अघिल्लो संस्करणमा पुरुष एकल, महिला एकल र पुरुष युगलतर्फ शीर्ष तीन स्थान हासिल गर्नेले नगद ४० हजार, २० हजार र १० हजार प्राप्त गरेकोमा यस पटक पुरस्कार रकममा वृद्धि गरी ५० हजार, २५ हजार र १० हजार गरिएको हो । 

यस्तै यु–१७ पुरुष तथा महिलाका शीर्ष तीन स्थान हात पार्नेले नगद २० हजार, १० हजार र ५ हजार तथा मास्टर युगल तर्फका विजेताले नगद ३० हजार, १५ हजार र ७ हजार ५ सय सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् ।