बिकास अधिकारी
पश्चिम नवलपरासी, पुस २१ गते । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले पूर्ण अपाङ्गता भएका नगरवासीलाई न्यानो कपडा वितरण गरेको छ । नगर प्रमुख धनपत यादवसहित वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतको टोलीले रामग्राम-१, सन्डामा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरेको हो ।
पुरुषको लागि न्यानो ज्याकेट र महिलाका लागि सुरुवाल र स्विटर वितरण गरिएको नगर प्रमुख यादवले जानकारी दिनु भयो । नगरभित्रका एक सय ५१ जना पूर्ण अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरिने नगरपालिकाले जनाएको छ । विशेषगरी जाडो समयमा हिँड्डुल गर्न नसक्ने अवस्थाका अपाङ्ग व्यक्तिलाई हुने समस्यालाई मध्यनजर गरेर न्यानो कपडा वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले जाडो बढेसँगै विभिन्न स्थानमा दाउरा वितरण गरेको थियो । दाउरा नपुगेका र थप गर्नुपर्ने स्थानमा भोलिबाट पुनः वितरण सुरु गर्ने प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले बताउनु भयो ।