फडिन्द्र अधिकारी
लेखनाथ, पुस २१ गते । जिल्ला प्रशासन कार्यालय कास्कीले एकैसाथ तीन जनालाई आमाको नामबाट नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८ की बासिन्दा निरुता नेपालीका दुई छोरा सुजन र दिनेश र एक छोरी सुस्मितालाई आइतबार नागरिकता प्रदान गरिएको हो ।
अन्नपूर्ण गाउँपालिकामा गएको मङ्सिर १२ गते सञ्चालित स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाहसम्बन्धी सचेतनामूलक अन्तरक्रियामा निरुता नेपालीले कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासमक्ष हालसम्म सन्तानको जन्मदर्ता प्रमाणपत्र नपाएको गुनासो गर्नुभएको थियो ।
नेपालीको गुनासोपछि सम्बन्धित स्थानीय तहसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा तीनै जनाको जन्मदर्ता गराई आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको कास्कीको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुभयो ।
निरुता नेपालीका श्रीमान् छोराछोरी र श्रीमतीलाई छाडी सम्पर्कविहीन भएपछि बाबुको पहिचान हुने कुनै कागजात र प्रमाण पेश हुन नसक्दा नागरिकता प्राप्तिमा समस्या भएको थियो । बुझ्नुपर्ने प्रमाण र तथ्य बुझी तीनै जनालाई आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको लम्सालले बताउनुभयो ।