गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २१ गते । ‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग’ ले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बयान बुझेको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका सन्दर्भमा जाँचबुझ एवं अध्ययन गर्न गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले आइतबार तत्कालीन प्रधानमन्त्री ओलीको जवाफ लिएको हो ।
यसअघि ओलीले सिंहदरबारस्थित जाँचबुझ आयोगमा गएर बयान नदिने बताउँदै आउनुभएको थियो । आइतबार आयोगको टोली पत्रसहित ओली निवास गुन्डुमै पुगेर लिखित जवाफ लिई फर्केको हो । आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार ओलीले भदौ २३ र २४ गतेको घटनाका सन्दर्भमा लिखित जवाफ आयोगलाई बुझाउनुभएको छ । प्रवक्ता शर्माले भन्नुभयो, “उहाँको लिखित बयान आएको छ । बयान अध्ययन गरेर स्थानहदसहित विषयमा निर्णय हुन्छ । साथै आयोगले प्रतिवेदन लेखन कार्य पनि सुरु गर्ने छ ।” ओलीले के बयान दिनुभयो भन्ने शर्माले खुलाउन चाहनुभएन । “त्यो कुरा प्रतिवेदनमै आउँछ,” उहाँको भनाइ थियो ।
यसअघि असोज १२ गते आयोगले तत्कालीन प्रधानमन्त्रीसहित पाँच जनालाई विदेश भ्रमणमा रोक लगाउन पत्राचार गरेको थियो । आयोगले तत्कालीन प्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहितलाई आयोगको स्वीकृतिबिना काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय भएको थियो । गृह मन्त्रालयका पूर्वसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि काठमाडौँ उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो । पूर्व गृहमन्त्री लेखकसहितको स्थानहद फुकुवा भइसकेको छ ।
मानव अधिकार आयोगले लियो बयान
एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीसँग राष्ट्रिय मानव अधिकार आयोगले पनि बयान लिएको छ । आयोगको अनुसन्धान समितिले ओलीसँग आइतबार अढाई घण्टा बयान लिएको हो । आयोगका सदस्य एवं अनुसन्धान समिति संयोजक डा. लिली थापाका अनुसार भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा देशका तत्कालीन कार्यकारी प्रमुख र सुरक्षा परिषद् अध्यक्ष रहनुभएका ओलीसँग प्रदर्शनका सन्दर्भमा बयान लिइएको छ ।
ओली–प्रचण्ड भेट
यसैबिच नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच आइतबार भेटवार्ता भएको छ ।
प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले ललितपुरको च्यासलमा भएको भेटवार्तामा निर्वाचनको वातावरण बनाउने विषयमा कुराकानी केन्द्रित भएको जानकारी दिनुभयो । “उहाँहरूबिच च्यासलमा २५ मिनेट एक्लाएक्लै भेट भएको छ,” आचार्यले भन्नुभयो, “उहाँहरूबिच समसामयिक राजनीतिक, चुनावी वातावरण कसरी बनाउने भनेर कुराकानी भएको छ ।”
दुई नेताबिच शनिबार बिहानै भेटवार्ता गर्ने कार्यक्रम तय भएको थियो । शनिबार सङ्खुवासभा रहनुभएका प्रचण्ड फर्कन ढिला भएकाले भेटवार्ता आइतबार सरेको हो । राष्ट्रिय सभा निर्वाचन, फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मिलेर जाने विषयमा उहाँहरूबिच कुराकानी भएको छ । भेटवार्ताबारे विस्तृत खुलाइएको भने छैन ।
प्रचण्ड आइतबार साँझ भारतको दिल्ली प्रस्थान गर्नुभएको छ । नेपाली समाज भारतको आयोजनामा नयाँ दिल्लीमा हुने ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’ मा सहभागी हुन प्रचण्ड भारत प्रस्थान गर्नुभएको जनाइएको छ ।