• १४ माघ २०८२, बुधबार

आमसहमति नबन्दा डिजिटल मतदान असम्भव

blog

सांकेतिक तस्बिर

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २१ गते । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ गते हुने निर्वाचनमा सूचना प्रविधिको प्रयोग गरेर मतदानको व्यवस्था गर्न उचित भए पनि आमसहमति नबन्दा यस पटक त्यो सम्भव हुन नसकेको बताउनुभएको छ ।

आइसिटी अवार्ड, २०२५ का विजेतासँग आइतबार मन्त्रालयमा भएको छलफलमा मन्त्री खरेलले त्यस्तो बताउनुभएको उहाँको सचिवालयले जनाएको छ । उहाँले आगामी निर्वाचन सही नेतृत्व चयन गर्ने उपयुक्त अवसर भएकाले राम्रो नेतालाई सदनमा पठाउन सबैसँग आग्रह गर्नुभयो । नेपाललाई ‘डिजिटल हाइवे’ मा अगाडि बढाउने गरी काम भइरहेको बताउँदै उहाँले त्यसका लागि नीतिगत सुधारका काम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “डिजिटल नेपालको मार्गदिशा बनाएर मुलुकलाई अगाडि बढाउन खोजिरहेका छौँ, त्यसको भविष्य भनेको तपाईं सूचना प्रविधिको क्षेत्रमा नवीनतम सिर्जना र योगदान गरिरहेका व्यक्ति तथा संस्था नै हो ।”

मन्त्री खरेलले विजेतालाई सूचना प्रविधि क्षेत्रको विकासका लागि सम्बन्धित मन्त्रालयसम्म जोडिनका लागि पुलको भूमिका निर्वाह गर्न सम्पर्क मन्त्रालयका रूपमा सञ्चार मन्त्रालयले भूमिका खेल्ने विश्वास दिलाउनुभयो । उहाँले सरकार गठन भएको तीन महिनाभित्रै ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति’ पारित गरिएको र डिजिटल नेपालको नीतिगत व्यवस्थाका लागि तयारी भइरहेको जानकारी दिनुभयो ।

मन्त्री खरेलले सूचना प्रविधिको विकासका साथै डिजिटल नेपाल निर्माणका लागि यस क्षेत्रका विज्ञ सरोकारवालासँग नवप्रवर्तन, स्टार्टअप, उद्यमशीलता र सूचना प्रविधिको क्षेत्रमा सरकारसँग समन्वय र सहकार्य गरेर काम गर्नुपर्नेमा जोड दिनुभयो । आइसिटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले स्टार्टअप र इनोभेसनलाई प्रवर्धन गर्ने र नेपालको डिजिटल इकोसिस्टमलाई बलियो बनाउने उद्देश्य अनुरूप हरेक वर्ष अवार्डको आयोजना भइरहेको र यसले अन्तर्राष्ट्रियस्तरसम्म नेपालमा र नेपालीले विकास गरेका प्रविधि, टेक प्रडक्टको विस्तारमा सहयोग पु¥याउनुका साथै युवालाई प्रोत्साहन र हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा उपस्थित विभिन्न विधाका आइसिटी अवार्ड विजेताले डिजिटल नेपालका लागि सूचना प्रविधि क्षेत्रको नीतिगत र संरचनागत सुधार गरिनुपर्नेमा जोड दिए ।