शंकर केसी
सल्यान, पुस २० गते । सल्यानमा दोस्रो प्रादेशिक कृषि, वन, पशु, पर्यटन, उद्योग, व्यापार तथा साँस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ । “कृषि, पशु, वन, उद्योग, व्यापार तथा पर्यटन विकासको परिकल्पना व्यवसायीकरणद्वारा आर्थिक उन्नति गर्दै समृद्ध समाजको स्थापना” भन्ने मूल नारासाथ सल्यानको श्रीनगरमा पुस २५ देखि माघ ११ गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।
आयोजक सल्यान उद्योग वाणिज्य संघले आइतबार श्रीनगरमा पत्रकार सम्मेलन मार्फत व्यवस्थापनको ७० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । शारदा नगरपालिका –१ श्रीनगरस्थित टाउन प्लानिङ क्षेत्रमा आयोजना हुने महोत्सवको तयारी, उद्देश्य र व्यवस्थापनबारे जानकारी दिइएको छ ।
महोत्सव संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्रकुमार थापाले कोसेली घर निर्माणको लक्ष्यसहित महोत्सव आयोजना गरिएको बताउनुभयो । महोत्सवलाई सुरक्षित, पारदर्शी र व्यवस्थित बनाइने स्पष्ट पार्नुभयो । उहाँका अनुसार महोत्सवमा ७७ लाख रुपियाँ कारोबार हुने अपेक्षा गरिएको छ । साढे १२ लाख रुपियाँ बचत गर्ने लक्ष्य राखिएको छ ।
एकसय ३० वटा स्टल रहने जानकारी दिँदै थापाले तीमध्ये एकसय वटा व्यापारिक स्टल र बाँकी ३० वटा स्टल कृषि, उद्यम, पर्यटनसँग सम्बन्धीत स्टल रहने बताउनुभयो ।
उहाँका अनुसार जिल्लाका १० वटै स्थानीय तहसँग समन्वय गरी तयारी अघि बढाइएको छ । महोत्सवमा स्थानीय झाँकी, मौलिक कला र संस्कृतिको प्रदर्शन गरिनुका साथै राष्ट्रियस्तरका कलाकारसँगै जिल्लाका कलाकारलाई समेत विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ ।
कृषकहरूका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ भने उत्कृष्ट कृषक तथा उद्यमीलाई कृषि विकास कार्यालय र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयसँगको समन्वयमा सम्मान तथा पुरस्कृत गरिने बताइएको छ ।
संघका वाणिज्य उपाध्यक्ष राजेन्द्रबहादुर भण्डारीले सरकारी निकायमा दर्ता भई कर प्रणालीमा आवद्ध आधिकारिक व्यापारीलाई मात्र स्टल उपलब्ध गराइने जानकारी दिनुभयो । उहाँका अनुसार सल्यानभित्र उद्योग वाणिज्य संघमा दर्ता भएका व्यापारीलाई स्टल शुल्कमा ३० प्रतिशत छुट दिइनेछ ।
त्यस्तै परिचयपत्रका आधारमा विद्यार्थीलाई ३० प्रतिशत र ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटमा महोत्सव प्रवेशको व्यवस्था गरिएको छ । उद्योग वाणिज्य संघमा दर्ता भएका व्यापारीलाई पाँचसय रुपियाँमा भिआइपी पास उपलब्ध गराइनेछ भने अन्यलाई एक हजार रुपियाँ शुल्क तोकिएको छ ।
संघका अध्यक्ष विरेन्द्र कुमार श्रेष्ठले महोत्सवले जिल्लाको कृषि, उद्योग, व्यापार र पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यो महोत्सव मनोरञ्जनका लागि मात्र नभई स्थानीय उत्पादनको बजारीकरण, कृषक र उद्यमीलाई प्रोत्साहन तथा जिल्लाको आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले समेत आयोजना गरिएको हो ।”