• २१ पुस २०८२, सोमबार

युएनडिपीको कर्मचारी भन्दै ठगी गर्ने युवक पक्राउ

blog

नवीनराज कुइँकेल

लमजुङ, पुस २० गते । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को कर्मचारी हुँ भन्दै ठगी गर्ने एक युवकलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ।

शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग दिलाउने प्रलोभनमा विभिन्न व्यक्ति तथा संस्थाबाट रकम असुल्ने चितवनको खैरहनी नगरपालिका १३ घर भएका २५ वर्षीय सुजन सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार सिलवालले केही दिनदेखि आफूलाई युएनडिपीको कर्मचारी भनी परिचय दिँदै लमजुङका विभिन्न गाउँहरूमा ठगी गर्दैआएका थिए । उनले विभिन्न वडा कार्यालय, कृषि फार्म तथा विद्यालयहरूमा पुगेर भौतिक पूर्वाधार विकास तथा अनुदान सहयोग उपलब्ध गराउने प्रलोभन देखाएर रकम असुल्ने गरेको भेटिएको छ ।

सोही बहानामा उनले निवेदन शुल्क, प्रतिलिपि सेवा शुल्क तथा दस्तुर भन्दै रकम असुली ठगी गर्दै हिँडेको गोप्य सूचनाको आधारमा प्रहरीले निगरानी बढाएको थियो। प्रहरी टोलीले खोजतलास गर्ने क्रममा पुस १८ गते साँझ लमजुङको दोर्दी ४ बाट सिलवाललाई शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो ।

प्रारम्भिक अनुसन्धानबाट खुले अनुसार सिलवालले युएनडिपीमा जागिर लगाइदिने भन्दै एकजना सहयोगी राखेको र सोही भ्रममा पारी भाडाको सवारी साधन र चालकसमेत लिएर हिँड्ने गरेको प्रहरीले जनाएको छ ।