अविनाश चौधरी
धनगढी, पुस २० गते । कैलालीको चुरे गाउँपालिका –२ खैरालास्थित सामुदायिक वनमा पदाधिकारीकै मिलेमतोमा वन फडानी भएको छ ।
डिभिजन वन कार्यालय धनगढीका अनुसार त्यहाँ रहेको त्रिवेणी सामुदायिक वन र झरना सामुदायिक वनभित्र हरिया सालको रुख काटिएको हो । सामुदायिक वनका पदाधिकारीकै मिलेमतोमा हरिया सालका रुख काटेर काठ तस्करी भइरहेको वन कार्यालयको जिकिर छ ।
सामुदायिक वन क्षेत्रमा अवैध रुपमा काटिएका झण्डै २० वटा हरिया सालका रुख चिरान गरिएको अवस्थामा करिब ६ सय क्युफिट काठ बरामद गरिएको छ । डिभिजन वन कार्यालय धनगढीले विशेष सूचनाको आधारमा गरेको अनुगमनका क्रममा उक्त अवैध गतिविधि फेला परेको हो ।
डिभिजन वन कार्यालय धनगढीका प्रमुख डिभिजनल वन अधिकृत (डिएफओ) रामविचारी ठाकुरको नेतृत्वमा खटिएको टोलीले त्रिवेणी सामुदायिक वन र झरना सामुदायिक वन भित्रै चिरान गरिएको सालको काठ बरामद गरेको छ । वन कार्यालयका अनुसार झरना सामुदायिक वनबाट करिब २०० वटा र त्रिवेणी सामुदायिक वनबाट ३१९ वटा कडी, फ्रेम र फन्टी बरामद गरिएको छ ।
सामुदायिक वनका अध्यक्षसहित केही पदाधिकारीको प्रत्यक्ष संलग्नतामा सालका रुख काट्ने, काठ बिक्री गर्ने गरिएको डिभिजनल वन अधिकृत ठाकुरले बताउनुभयो । उहाँले वन क्षेत्र अतिक्रमण गर्ने उद्देश्यसाथ योजनाबद्ध तरिकाले तस्करी भइरहेको बताउनुभयो । वन कार्यालयको टोली घटनास्थलमा पुगेपछि संलग्न सामुदायिक वनका पदाधिकारी फरार भएका छन् । उनीहरूको खोजी कार्य जारी रहेको ठाकुरले जानकारी दिनुभयो ।
“चुरे क्षेत्रमा केही समययता अवैध रुपमा वन फडानी र अतिक्रमण भइरहेको भन्ने सूचनाका आधारमा लगातार गस्ती गर्दा ठूलो परिमाणमा काठ फेला परिसकेको छ” डिएफओ ठाकुरले भन्नुभयो, “वन अतिक्रमण र फडानीमा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याइन्छ, कसैलाई छुट दिइने छैन ।”