• २१ पुस २०८२, सोमबार

बिर्सिइन लागेको वेदाङ्ग ज्योतिष

blog

फलित ज्योतिषका पनि विभिन्न हाँगा छन् । हात वा शरीरका कुनै अङ्ग हेरेर वा जीवजन्तु आदिले देखाएका व्यवहार र मानिसले देख्ने सपना आदिबाट गर्ने फलादेशका भिन्नाभिन्नै शास्त्र छन् ।

ज्योतिषशास्त्र भन्नेबित्तिकै चिना–टिप्पन बनाउने, फलादेश (कुण्डली–राशिफल लेख्ने–हेर्ने) भन्ने बुझाइ छ तर त्यसका लागि पनि ग्रहको गणित आवश्यक पर्छ  । त्यसैले ज्योतिषशास्त्रलाई गणित र फलित गरी दुई भागमा बाँडेर अध्ययन तथा प्रयोग गरिन्छ । अहिले प्रयोगमा रहेको ज्योतिषलाई अर्वाचीन (आधुनिक) ज्योतिष भनिन्छ ।

ग्रहहरूको गणना गरी तिनको अवस्था के कस्तो छ, कति निकट वा दुर छन्, सूक्ष्म हिसाब गरेर निकालिन्छ । यसलाई सिद्धान्त (गणित) ज्योतिष भनिन्छ । यसरी निकालिएको हिसाब अनुसार ती ग्रहले मानिस वा प्रकृतिमा कस्तो असर पार्छ भन्ने फलादेश फलित ज्योतिषले गर्छ ।

फलित ज्योतिषका पनि विभिन्न हाँगा छन् । हात वा शरीरका कुनै अङ्ग हेरेर वा जीवजन्तु आदिले देखाएका व्यवहार र मानिसले देख्ने सपना आदिबाट गर्ने फलादेशका भिन्नाभिन्नै शास्त्र छन् ।

अर्वाचीन ज्योतिषको प्रयोग भइरहँदा ओझेलमा परेको छ हाम्रो मूल ज्योतिषशास्त्र– वेदाङ्ग ज्योतिष । यो ग्रन्थ आजभन्दा करिब ३४ सय वर्षअघि लगध मुनिले बनाएका थिए ।

वेदका छ अङ्ग छन् । ती हुन् शिक्षा, छन्द, व्याकरण, निरुक्त, ज्योतिष र कल्प । वेदाङ्ग ज्योतिषमै भनिएको छ–

यथा शिखा मयूराणां नागानां मणयो यथा,

तद्वद् वेदांगशास्त्राणां कालज्ञानं प्रचक्षते ।

अर्थात् जसरी मयूर र नागको शिरमा मणिले शोभा दिन्छ त्यसरी नै वेदाङ्गशास्त्रमा ज्योतिषशास्त्रको महत्व छ ।

यजुर्वेदको याजुषज्योतिषमा ४४ श्लोक छन्  । शुक्ल यजुर्वेदीहरूको परम्पराबाट आएको ४४ श्लोकयुक्त वेदाङ्ग ज्योतिषको विस्तृत व्याख्या गरिएको र ज्योतिष विषयका प्रश्नको विवेचना गरिएको पुस्तक (नेपालका विद्वान् शिवराज आचार्यद्वारा व्याख्या गरिएको) वाराणसीबाट प्रकाशित छ ।

वेदाङ्ग ज्योतिष अनुसार पाँच वर्षको एक युग हुन्छ– संवत्सर, परिवत्सर, इदावत्सर, इद्वत्सर र वत्सर । एक चक्र पूरा भएपछि यी दोहोरिरहन्छन् । तप, तपस्या, मधु, माधव, शुव्रm, शुचि, नभ, नभस्य, इष, उर्ज, सह र सहस्य गरी वैदिक महिना पनि बाह्रै वटा हुन्छन् । वैदिक महिना र वर्ष ऋतुबद्ध मानिन्छन् । शिशिर, वसन्त, ग्रीष्म, वर्षा र शरदले दुई–दुई महिनालाई बाँधेका हुन्छन् ।

एक महिनामा शुक्ल र कृष्ण गरी दुई पक्ष छन् । शुक्लपक्षमा प्रतिपदादेखि पूर्णिमा र कृष्णपक्षमा प्रतिपदादेखि औँशीसम्मका १५/१५ तिथि हुन्छन् । वैदिक तिथि अहोरात्रात्मक हुने हुनाले चतुर्दशीबाहेक अरू तिथि टुट्दैनन् । अहिले चलिरहेको पात्रोमा जस्तो तिथि टुट्ने वा बिहान एउटा बेलुकी अर्को तथा भोलिपल्ट सूर्योदय नहुँदै अर्को लागिसक्ने हुँदैन । अहोरात्रात्मक अर्थात् सूर्योदयदेखि अर्को सूर्योदय नभएसम्म एउटै तिथि रहन्छन् तर एक वर्षमा बढीमा छ वटा चतुर्दशी मात्रै टुट्छन् । चतुर्दशी टुटेका बेला १४ तिथिको पक्ष हुन्छ ।

प्रत्येक दिन एउटा नक्षत्र रहन्छ । वैदिक कालगणनामा यसको ठूलो महìव छ । नक्षत्र २७ वटा छन्– कृत्तिका, रोहिणी, मृगशीर्ष, आद्र्रा, पुनर्वसू, पुष्य (तिष्य), अश्लेषा, मघा, पूर्व फाल्गुनी, उत्तर फाल्गुनी, हस्त, चित्रा, स्वाति, विशाखा, अनुराधा, ज्येष्ठा, मूल, पूर्वाषाढा, उत्तरषाढा, श्रवण, धनिष्ठा, शतभिषा पूर्वभाद्र, उत्तरभाद्र, रेवती, अश्विनी र भरणी । यी नक्षत्रका अधिष्ठाता (स्वामी) क्रमशः अग्नि, प्रजापति, सोम, रुद्र, अदिति, बृहस्पति, सर्प, पितर, भग, अर्यमा, सविता, त्वष्टा, वायु, इन्द्राग्नि, मित्र, इन्द्र निऋति, आप, विश्वेदेव, विष्णु, वसु, वरुण, अजैकपात्, अहिर्बुध्न्य, पूषा, अश्विनी र यमलाई मानिएको छ ।

कृत्तिकादेखि भरणीसम्मका नक्षत्र तिनको प्रकृति र स्वामी अनुसार कुनै पनि कार्यका लागि ग्रहण गरिन्छन् । अर्थात् कुन कर्म गर्दा कुन नक्षत्रमा गर्ने निर्धारित हुन्छ । नामकरण (शिशुको नाम राख्दा) मा नक्षत्र देवताको प्रयोजन बताइएको छ । विवाह उत्तरायणको शुक्लपक्ष पूर्वाह्नमा, व्रतबन्ध उत्तरायणको शुभ तिथिमा, उपाकर्म अर्थात् वेदको अध्ययनको नयाँ सत्रको आरम्भ गर्ने पर्व नभ मासको पूर्णिमामा मनाउने विधान छ । एक वर्षदेखि अर्को वर्ष सुरु हुँदासम्म १३ चान्द्रमास पर्‍यो भने उत्तरायण वा दक्षिणायनको अन्त्यमा अयनको सातौँ अमान्त चान्द्रमासकै रूपमा अधिकमास पर्छ ।

वैदिक कालगणनामा अधिकमास पर्छ तर क्षयमास पर्दैन । वैदिक पात्रोको अनुसरण गर्नेहरूले औँशी र पूर्णिमा तिथिलाई विशेष महत्व दिन्छन् । पूर्णिमा देवकार्यका लागि महत्वपूर्ण हुन्छ भने औँशी पितृहरूको उद्देश्यका लागि । वैदिक परम्परामा धार्मिक कार्यको अनुष्ठान सौरमान सापेक्ष चान्द्रमानका आधारमा गर्नुपर्ने विधान छ ।

वैदिक कालगणना चान्द्रमानमा आधारित भएकाले नयाँ वर्ष ठ्याक्कै यही मितिमा पर्छ भन्ने हुँदैन । सौरमानले वास्तविक उत्तरायण लाग्ने दिन अर्थात् पुस ७ गते शुक्लपक्षको कुनै तिथि परेको भए त्यसै पक्षको प्रतिपदामा नयाँ वर्ष लाग्ने बताइन्छ । चल्तीको मङ्सिर वा पुस परे पनि यस संवत् सुरु हुने समयलाई माघमा सारम्भ भनिने वेदाङ्ग ज्योतिषका अध्येता तथा वैदिक तिथिपत्रम्का सम्पादक प्राडा प्रमोदवर्धन कौण्डिन्न्यायन बताउँछन् ।

कृष्णपक्षको नवमी र त्यसभन्दा अघिका तिथि भए त्यस (कृष्णपक्ष) भन्दा अघिल्लो शुक्लपक्षको प्रतिपदामा र दशमीदेखि पछाडिका तिथि भए आउने शुक्ल प्रतिपदामा वैदिक नयाँ वर्ष सुरु हुन्छ । वैदिक नववर्षारम्भको दिन नै वैदिक सौरचान्द्र उदगयन (उत्तरायण), शिशिर ऋतु र तपोमासको अथवा आर्तव माघमासको सुरुवात हुन्छ । प्रयोग हुँदै आएको पात्रोको विवरणमा ‘दर्शश्राद्ध’ लेखिएको दिनको भोलिपल्ट नयाँ महिना सुरु हुने गर्छ ।

यो संवत् कुनै वर्ष शकसंवत् अनुसारको अहिले चलेको मार्गशीर्ष शुक्ल प्रतिपदा र कुनै वर्ष पौष शुक्ल प्रतिपदामा आरम्भ हुन्छ । यो वर्ष (२०८२) पौष शुक्ल प्रतिपदा अर्थात् पुस ७ गते वैदिक नयाँ वर्ष ५०९१ लाग्ने छ ।

नेपालका कतिपय जातजातिले मनाउने संवत्मा पनि वैदिक परम्परालाई आधार मानेको पाइने वैदिक कालगणनाका अध्येता बताउँछन् । नेपाल संवत् पनि वैदिक कालगणनाबाटै प्रभावित भएको पाइन्छ । कृष्णपक्षको प्रतिपदालाई आधार मानिएको शालिवाहन शाकेको गणनाविपरीत वैदिक नयाँ वर्ष शुक्लपक्षको प्रतिपदामा सुरु हुन्छ ।

त्यति मात्र नभई प्राचीनकालमा संसारका धेरै भागमा उत्तरायण लाग्दा नयाँ वर्ष मान्ने चलन रहेको थियो । अचेलको ग्रेगोरियन क्यालेन्डरले जनवरी १ लाई नयाँ वर्ष मान्नुमा पनि यही कारण देखिन्छ ।

विभिन्न पुराणमा समेत वैदिक कालगणनाको उल्लेख पाइने सम्पादक कौण्डिन्न्यायन बताउँछन् । उनका अनुसार भारतमा पहिले नै हराएको भए पनि नेपालमा लिच्छविकालदेखि मल्लकालमा (सोह्रौँ शताब्दीसम्म) पनि वैदिक कालगणना पद्धति संरक्षित भएको तथा व्यवहारमा रहेको कुरा काठमाडौँ उपत्यका र वरपरका क्षेत्रमा प्राप्त शिलालेखमा उल्लेख छ ।

भारतमा जनार्दन बालाजी मोडक, शङ्कर बालकृष्ण दीक्षित, लाला छोटेलाल बार्हस्पत्य, सुधाकर द्विवेदी, बाल गङ्गाधर तिलक र शामशास्त्रीलगायतले विभिन्न समयमा वेदाङ्ग ज्योतिषको प्रचार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । नेपालमा आचार्यको ‘स्वाद्ध्यायशाला’ पुस्तकमा आधारित रहेर १५ वर्षदेखि यही कालगणनामा रहेर ‘वैदिक–तिथिपत्रम्’ का नामले वैदिक पात्रो प्रकाशनमा ल्याइरहेको छ ।   

 –युवामञ्च 

Author

रामप्रसाद धिताल