सन् १९५३ मे मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको १० वर्षपछिसम्म थप १३ जना सगरमाथाको शिखरमा पाइला टेक्न सके । सन् १९७३ सम्म आइपुग्दा सगरमाथा आरोहण गर्नेको कुल सङ्ख्या ३६ पुग्यो । सन् १९९२ को अन्त्यसम्म ५२२ सफल आरोहीले सगरमाथाको चुचुरो चुम्न सकेका थिए । हालैका वर्षमा त सफल आरोहीको सङ्ख्या नै शिखरमा पुगेको छ । सन् २०२४ डिसेम्बरको तथ्याङ्क हेर्दा सात हजारभन्दा बढी आरोहीले सफल आरोहण गरिसकेका छन् ।
सगरमाथा आरोहण निकै नै खतरनाक प्रयास मानिन्छ । यस प्रयासमा तीन सयभन्दा बढी मानिसले सगरमाथा क्षेत्रमा ज्यान गुमाइसकेका छन् । जसमा दुई सय जतिको शव त अझै पनि हिउँमा अलपत्र नै छ किनभने त्यहाँबाट शव ल्याउन सजिलो छैन । जेहोस् अचेल संसारको सबैभन्दा अग्लो शिखर आरोहण धेरै पक्षबाट हेर्दा हिलारी र तेन्जिङको अनुभवभन्दा नितान्त फरक छ । अझ सन् १९२४ सगरमाथा शिखरको नजिक ज्यान गुमाएका जर्ज मालोरी (उनले सगरमाथा आरोहण नै गरेको दाबी गर्नेहरू पनि छन्) जस्ता साहसीको त कुरै छोडौँ ।
पर्याप्त अनुभव र तालिम तथा केही हजार अमेरिकी डलर खर्च गरेर सगरमाथाको शिखरसम्म पुग्न सकिने अवस्था छ । शेर्पाहरूले अक्सिजन सिलिन्डरसहितका उपकरण तपाईंका लागि पहाडको माथिसम्म बोकेर लगिदिन्छन् । त्यहाँ दह्रोसँग जडान गरिएका डोरी, भ¥याङ र मार्गचित्रले तपाईंलाई आरोहण सहज बनाइदिन्छन् । अचेल त सरसामान आपूर्ति र फिर्तीमा ड्रोनसमेत परिचालन गर्न थालिएको छ ।
सगरमाथा आरोहण गरेका र उत्तरी तथा दक्षिणी मोहडासम्मै पुगेका इरिक लार्सनको विचारमा हिलारी–तेन्जिङको समय र आजको अवस्थाबीचको अन्तर भनेको सूचनाको उपलब्धता र दशकौँदेखि सङ्गृहीत हुँदै आएका ज्ञान नै हो ।
उनी भन्छन्, “यसलाई पहिले पनि आरोहण गरिएको थाहा पाउँदा मेरो चिन्ता र अनिश्चितता धेरै कम भएको थियो । हामीसँग मौसमका बारेमा वा उचाइमा जाँदा हाम्रो शरीरले देखाउने प्रतिक्रियाका बारेमा सटिक जानकारी थियो । हामीले आरोहण मार्गसमेत थाहा पाएका थियौँ, उनीहरूसँग त त्यति पनि थिएन ।” केही निश्चित अन्य पक्षमा लार्सनको भनाइ अनुसार धेरै कुरा उस्तै नै छ ।
“हिमगैँती (आइसएक्स) अझै हिमगैँती नै छ । यसमा खासै परिवर्तन आएको छैन । जुत्तामा समेत त्यति परिवर्तन आएको देखिँदैन । म अझै पनि उनी मोजा लगाउँछु । उनीहरूले पनि मेरो जस्तै ‘डाउन ज्याकेट’ पहिरिएका थिए,” लार्सन भन्छन् ।
माउन्टेन प्रोफेसनल्स नामको गाइड कम्पनी सञ्चालन गरिरहेका तथा सात पटक सगरमाथा आरोहण गरेका रायन वाटर्सको भनाइमा हिमाल आरोहणमा प्रयोग गरिने उपकरणमा सन् १९५३ देखि आइरहेको परिवर्तनको कुरा गर्ने हो भने जलरोधी (वाटरप्रुफिङ), न्यानो तथा सबैभन्दा महìवपूर्ण तौलमा धेरै नै सुधार हुँदै जानु हो ।
उनले सगरमाथा आधार शिविरबाट भिडियो कलमा कुरा गर्दै भने, “प्रविधिले धेरै नै साथ दिएको छ । किनभने आरोहणलाई सहज बनाउने गरी प्रविधिले न्यानो, हल्का मालवस्तु बनाउन सकिएको छ ।” यसले के कुरा स्पष्ट हुन्छ भने पहाड आरोहणमा कत्तिको परिवर्तन आइसकेको छ ।

“खानाका बारेमा सोच्नुस्, उनीहरूले सार्डिन्स, सुक्खा खुर्पानी र केकका ठूला बट्टा लिएर जानु परेको थियो । जबकि हामी चिसो पारिएका त्यस्ता सुक्खा खाद्यवस्तु लिएर जान सक्छौँ जो धेरै हलुका हुन्छन् ।” उनको प्रतिक्रिया छ ।
आजका आरोहीले प्रयोगमा ल्याउने उपकरणसँग दाँजेर हेर्दा हिलारी र तेन्जिङले उपयोगमा ल्याएका केही उपकरणका बारेमा यहाँ उल्लेख गरिएको छ ।
जुत्ता
सन् १९५३ को माउन्ट एभरेस्ट एक्सपेडिसनका लागि आवश्यक जुत्ता ब्रिटिस बुट, सु एन्ड अलाइड ट्रेड रिसर्च एसोसिएसनद्वारा विशेष रूपमा बनाइएको थियो । आरोहणका क्रममा बरफ र भूसतह भिजेको हुने तल्लो क्षेत्रमा लगाउनका लागि बिसर्जन गर्न मिल्ने गरी जुत्तामा एउटा रबरको तह राखिएको थियो । जसलाई काटेर हटाउन सकिन्थ्यो ।
आरोहण दलमा सहभागी सबै ३५ जनालाई मिल्ने गरी जुत्ता मापन गरिएको थियो । ती जुत्ता छालाले बनाइएका थिए र त्यसमा छ तहको कापोक (प्राकृतिक रूपमा जलरोधी गुण भएको एक प्राकृतिक रेसा) राखिएको थियो । कापोकले एक इन्सुलेटरका रूपमा समेत काम गर्दथ्यो । जुत्ता लगाउँदा न्यानो रहने गरी त्यसको रेसादार संरचनामा हावा थुनिएर रहन्थ्यो । १.८ किलो तौल भएका ती जुत्ता त्यतिबेला आरोहणका लागि उपलब्ध अन्य जुत्ताको दाँजोमा आधा तौलका थिए ।
वाटर्सको भनाइमा अचेल सगरमाथा आरोहणमा जानेले विशेष रूपमा तयार पारिएको ‘८००० मिटर बुट्स’ लगाउँछन् । यी जुत्तामा समेत समान मान्यता छ, भित्री जुत्ताले न्यानो पार्छ तथा बाह्य जुत्ता छाला र सिन्थेटिक मिश्रित वस्तुले बनाइएको हुन्छ ।
उनी जुत्ता बारेमा यसरी प्रस्ट्याउँछन्, “यी धेरै नै गह्रौँ देखिन्छन् तर जब तपाईंले तिनलाई उठाउनु भयो भने ती धेरै हलुका लाग्छन् ।”
लुगाफाटो
हिलारीले कैयौँ तह भएको लुगा लगाएका थिए । धेरै जसो उनले वा उनमिश्रित लुगा थिए । सेटल्यान्ड भेडाको गर्धनको रौँलाई मिहिन तरिकाले कातेर बनाइएको उनबाट तयार परिएको एउटा स्वेटरसमेत हिलारीको जिउमा थियो । फ्रान्सेली कम्पनी अल्पकेनले बनाएको एउटा डाउन ज्याकेटसमेत हिलारीले पहिरिएका थिए । त्यस कम्पनीले हाँसको भुत्ला प्रयोग गरेर तयार पारिने सिरक र स्लिपिङ ब्याग उत्पादनसमेत गर्दथ्यो । उसका ती उत्पादनमा प्रविधि र सैद्धान्तिक मान्यता प्रयुक्त गरिन्थ्यो ।
करिब २७ हजार फिटमा अवस्थित सगरमाथाको तेस्रो आधार शिविरमुनि वाटर्सले उन वा सिन्थेटिक लुगा लगाउँछन् (बेस लेयर) र त्यसपछि तह दर तह उनीदार लुगा थप्दै त्यसमाथि एउटा डाउन ज्याकेट लगाउने गर्छन् । निकै नै जाडो भएको खण्डमा उनी पूरै शरीर ढाक्ने डाउन ज्याकेट पहिरिन्छन् ।
हिमगैँती
हिलारीले सेमोनिक्स मोन्ट ब्लाङ्क हिमगैँती प्रयोग गरेका थिए । त्यसमा एक सोझो गैँती थियो र त्यसको बिँड बनाउन युरोपेली एस रुखको काठ प्रयोग गरियो । त्यतिबेला प्रयोगमा आइरहेको हकीको ब्याटको बिँडभन्दा यो हलुका थियो । यसको लम्बाइ करिब ३२ इन्च भएकाले २० औँ शताब्दीको सुरुका वर्षमा प्रयोगमा आएका ५० इन्च लम्बाइका बिँडभन्दा यो छोटो नै मानियो तर अचेल प्रयोग गरिने हिमगैँतीको दाँजोमा धेरै लामो थियो ।
समय बित्दै जाँदा आरोहणका लागि प्रयोग गरिने उपकरणमा धेरै नै सुधार आयो । हिमगैँतीको आकार सानो भयो भने घुमावदार गैँती र बिँड बढीमा २७ इन्च लामो तथा घटीमा २० इन्चको बनाउन थालिए । साथै यिनको निर्माणमा हलुका र मिश्रित वस्तु प्रयोग हुन थाल्यो ।
टेन्ट र स्लिपिङ ब्याग
हिलारी, तेन्जिङ र आरोहण दलका अन्य सदस्यले आश्रय लिएका टेन्टको आवरणमा क्यानभा र भित्र नाइलनको अर्को टेन्ट थियो । उनीहरू नाइलनले बनाइएको स्लिपिङ ब्यागमा सुत्थे । त्यसको तौल करिब चार किलो थियो ।
आधुनिक बेस क्याम्प टेन्ट ठूला र आरामदायक हुन सक्छन् । सगरमाथाको उच्च स्थान र शिखरका लागि साना, हलुका तथा तेज हावा र खराब मौसमबाट जोगाउने गरी दोहोरो पत्र भएका टेन्ट हुन्छन् । आधुनिक स्लिपिङ ब्यागको तौल करिब दुई किलो हुन्छ भने यिनले माइनस ४० डिग्री फरेनहाइटसम्मको चिसो थेग्न सक्छन् ।
समग्रमा भन्नु पर्दा लार्सन र वाटर्स दुवै के कुरामा सहमत छन् भने प्रविधिको विकासले धेरै नै सहयोग गरेको भए पनि पृथ्वीको सर्वोच्च शिखर सगरमाथा आरोहणको आधारभूत विधि सन् १९५३ कै समान छ । उनीहरू यसलाई हिलारी र तेन्जिङको ठूलो सफलता र साहस मान्छन् । किनभने त्यतिबेला उनीहरूसँग अहिलेको जस्तो करिब ७० वर्षदेखिको अनुभव र ज्ञान थिएन । सञ्चित हुँदै आएको अनुभव र ज्ञान तथा प्रविधिले हिलारी र तेन्जिङको युगको दाँजोमा सगरमाथा आरोहण धेरै नै सहज बनाएको छ ।
आफ्ना पूर्वर्तीका बारेमा प्रतिक्रिया दिँदै वाटर्स भन्छन्, “दिमागमा आउने एक शब्द हो सम्मान । हामी अझै पनि ठूलो साहसी कार्य गरिरहेका छौँ तर हामीले ती व्यक्तिलाई धन्यवाद दिनु पर्छ जसले हामीलाई पूर्वज्ञान प्रदान गरे ।”
हिस्ट्रीबाट उमेश ओझाद्वारा अनुवादित र सम्पादित ।
–युवामञ्च