• २१ पुस २०८२, सोमबार

युवामा नागरिक शिक्षाको प्रभाव

blog

मानिसको पुस्तान्तरणको अन्तर जुगानुजुगदेखि चल्दै आएको छ । पुस्ता बदलिन्छ र विचार पनि बदलिन्छ । एकअर्काबिचको सम्बन्ध फरक हुन्छ । खाने चिज फरक हुन्छ, लगाउने कपडा फरक हुन्छ । किन्न जाने पसल, उपभोग गर्ने वस्तु पुस्तासँगै बदलिन्छ । आज देखिएको सोच र प्रविधिले जीवन शैलीमा ठुलो परिवर्तन ल्याएको छ । आज जेनजीका माग र आन्दोलन पनि यसै गरी गाँसिएर आएका छन् । 

पहिलेका पुस्ताले पढ्ने स्कुलभन्दा अहिलेका पुस्ताका लागि फरक ढङ्गका छन् । नीति तथा कार्यक्रममा पनि बदलाव आएको छ । शैक्षिक प्रक्रियामा बदलाप आएको छ । माध्यमिक तह पार गर्दा साथै कामको खोजीमा देश तथा विदेश भौँतारिने ठुलो जमात छ । यस्ताका लागि स्वदेशमै अध्ययन गर्ने वातावरण बन्न सकेन । नयाँ जेनेरेसन र नयाँ परिवर्तनका लागि सुहाउँदो शैक्षिक कार्यक्रम किफायती बनाई विद्यार्थीलाई सुविधा दिने गरी लक्षित समूहलाई निःशुल्क अध्ययन व्यवस्था गरिने कुरा नारामा सीमित रहे ।

हाम्रा शैक्षिक कार्यक्रम कार्यशैली समाय अनुसार बदलेर पाठ्यक्रम, शैक्षिक र मूल्याङ्कन प्रणालीसमेतमा व्यापक फेरबदल हुँदै आए पनि जेनजी पुस्ताले तदनुरूपको सुधार भएको महसुस गरिरहेका छन् । आजका पुस्ताका ठुलो जमात नेपालमै अध्ययन गरिरहेका भन्दा बाहिर गएकाको विषयमा बढी चासो र चिन्ता देखिन्छ । चिन्ता अस्वाभाविक पनि होइन । यसमा बाहिर गएका भन्दा देशभित्र रहेकैहरूका बारेमा पनि बढी सोच्नु पर्छ । चिन्ताको विषय चाहिँ उच्च शिक्षा सुधार्नुमा हुनुपर्ने थियो तर त्यो भएको छैन । यहाँ राम्रो पठनपाठन गराउन सके यहाँबाट बाहिर जाने थिएनन्, बाहिर गएकाहरू पनि यहीँ पढ्न फर्कने थिए । हाम्रा केटाकेटी बाहिर गए झैँ अन्यत्र मुलुकका विद्यार्थी यहाँ पढ्न आउने थिए । यस दिशातर्फ हाम्रो ध्यान गएन । हामीसँग भएका स्रोतसाधन कमी होलान् । उच्चतम सदुपयोग गर्ने प्रयत्न हामीबाटै हुनुपर्ने थियो । 

पुरानो र नयाँबिचको अन्तरद्वन्द्व भने राखी रहनु हुँदैन । पुरानो सोचमा अलग्गिएर नयाँ ल्याउने स्रोतको खोजी नै आजका जेनजीको माग हो । जहाँकहीँ शिक्षा र बजारको सम्बन्ध आज तीव्र गतिमा बढ्दो छ भन्ने नयाँ पुस्ताले बुझ्नु पर्छ । बजारले शिक्षालाई उपयोगितामा ल्याउने काम गर्छ । बिदेसिएका केटाकेटी कामको खोजी र शिक्षा लिनका लागि गएका हुन सक्छन् । यिनलाई रोक्न स्वदेशमै राम्रो शिक्षा र रोजगारका अवसर सिर्जना गर्न सक्नु पर्छ । हामीसँगै विद्यमान भौतिक संरचनालाई उच्चतम उपयोग गर्ने स्रोतसाधनलाई मितव्ययी तरिकाले प्रविधि र आवश्यक अन्य कुरामा खर्च गर्ने सोच राखिनु उचित होला ।

विभिन्न संरचनामा खर्च हुने रकमलाई बचत गरी गुणस्तरीय र शिक्षा र गरिब जेहेनदार विद्यार्थीका लागि उपयोग गर्न सकिन्छ । उत्पादन लक्षित कार्यक्रम तर्जुमा हुनु पर्छ । यसबाट रोजगारीका नयाँ सम्भावना पनि देखा पर्न सक्छन् । हाम्रा सुझबुझ र अपरिपक्व शिक्षा नीतिका कारण १२ कक्षा पास गरेपछि विदेश पढ्न जानेको लर्को बढ्दो छ । यो किन भयो त ? शिक्षामा उद्यमशीलतासम्बन्धी ज्ञान र सिप सिकाइको व्यवस्था हुन सकेन र उच्च शिक्षा हासिल गरिसकेपछि पनि आफैँले कामको खोजी र स्वयम्ले उद्यम सञ्चालन गर्ने सोचाइ आएन । यही मानसिकताका कारण यहाँका विश्वविद्यालयमा अध्ययन गर्नुभन्दा विदेश गएर पढ्दै कमाउँदै गर्ने प्रवृत्ति बढ्दै गएको हो । यसर्थ हामीले आधारभूत शिक्षादेखि नै उद्यमशीलता र सिपसम्बन्धी सिकाइलाई अघि बढाउनु जरुरी छ । आयआर्जनका लागि सिप नभई हुँदैन । 

दक्ष र सिपयुक्त शिक्षकबिना राम्रो विद्यार्थी हुँदैन । शिक्षण सुधारका लागि प्रथमतः विद्यालयका शिक्षकको क्षमता विकास गर्नु प¥यो । बालमैत्री कक्षा कोठा भन्छौ तर त्यहाँ न भेन्टिलेसन छ, न राम्रो शौचालय न त शुद्ध पानीको व्यवस्था नै । पुस्तकालय छैन । विषयगत योग्य शिक्षकको अभाव छ । समयमा शिक्षकले तलब नपाएका प्रसस्त गुनासा सुन्न पाइन्छ । विद्यार्थीको आकर्षण निजी विद्यालयतर्फ ओइरिएको छ । सामुदायिक विद्यालयको तथ्याङ्क हेर्दा सङ्ख्या निरन्तर घट्दो छ । अधिकांश विद्यालयमा विद्यार्थीको सङ्ख्या मापदण्डभन्दा ज्यादै कम छ । यस किसिमका सङ्ख्याको दृष्टिले हेर्दा थुप्रै विद्यालय बन्द गर्नुपर्ने अवस्था छ । यो अवस्थालाई समयमै चिर्न नसके शिक्षामा थप अन्योल सिर्जना हुने छ । सामुदायिक विद्यालयले प्रभावकारी सिकाइको वातावरण निर्माण गरी विद्यालयको भौतिक पूर्वाधार सुधार गर्नु जरुरी छ ।

अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी रित्तिँदै जानु र परीक्षाको नतिजा पनि खस्कँदै जानुले शिक्षा क्षेत्रमा आशा सञ्चार गर्न सकिने वातावरण देखिएन । विद्यालय शिक्षाको व्यवस्थापन र सञ्चालन कसरी गर्ने भन्ने विषयमा राज्य र राजनीतिक दल स्वयम् अन्योलमा देखिन्छन् । नेपालको संविधान जारी भएको एक दशक बितिसक्दासमेत सङ्घीय शिक्षा ऐन बन्न नसक्नु दुःखद हो । ऐन बन्न नसक्दा धेरैथरीका समूहको आफ्नो अनुकूलका चलखेल र स्वार्थ जोडिन पुग्नुले साँच्चै पेचिलो बन्दै आएको आभास मिल्छ । यसले गर्दा सार्वजनिक शिक्षाको विकास र प्रगतिका लागि पर्ने समुदाय र पेसेवर निराशा र दुःखी हुनेबाहेक केही भएन ।

प्रजातान्त्रिक राज्य प्रणालीमा प्रत्येक सार्वजनिक संस्थामा सुशासनको प्रत्याभूति हुन जरुरी छ । विद्यालय जस्तो संवेदनशील क्षेत्रमा त झनै सुव्यवस्थाको व्यवस्थापन र पारदर्शिताको खाँचो छ । यसका लागि सरकार, स्थानीय निकाय, समुदाय, शिक्षक व्यवस्थापन समिति आदि सबैको सकरात्मक भूमिका नभई सम्भव छैन । यसमा विद्यालय व्यवस्थापन समितिको गठन, प्रक्रिया, आर्थिक कारोबार, लेखा परीक्षण गराउने सामाजिक परीक्षण तथा सामाजिकीकरण गर्ने जस्ता कुरा पनि चाहिन्छ । यस्ता कुरा कार्यान्वयन गर्न विद्यालयले विभिन्न मापदण्ड, कार्यविधि र दिग्दर्शन आदिको पनि निर्माण गर्नु पर्छ । यसतर्फ भन्दा नेताहरूको निहित स्वार्थ र शिक्षकको पेसाप्रतिको निष्ठाको अभाव देखिँदै आएको छ ।

राजनीतिक नेतृत्वले व्यवस्थापन समितिमा बसेर शिक्षकलाई आफ्ना कार्यकर्ता बनाउन खोज्नुले विद्यालय सुधारमा अवरोध खडा गरेको छ । शिक्षक महासङ्घले हालै ऐन जारी गर्न भन्दै राखेको मागको अडानले सरकार माग पूरा गर्न बाध्य भयो । ती माग व्यवहारमा कार्यान्वयन भने हुन सकेका छैनन् । शिक्षकका पनि आफ्नो कर्तव्य र दायित्व हुन्छन् । कर्तव्य पालना गरेका छन् कि छैनन् भनेर नियाल्नु पर्छ । 

मुलुकमा जतिसुकै जटिल परिस्थिति उत्पन्न भए पनि शिक्षा क्षेत्रमा कहीँकतैबाट प्रभाव पारिनुहुन्न । विद्यमान शिक्षाको राष्ट्रिय उद्देश्य अनुरूप कति काम भए, त्यसले नागरिकमा कस्तो प्रभाव प¥यो भन्ने विषयलाई ध्यान दिइनु पर्छ । नागरिकको चेतना बढाउन शिक्षाभित्रको नागरिक शिक्षाको भूमिका प्रबल हुनु जरुरी छ । समाज र राष्ट्रप्रति पनि नागरिकको दायित्व हुन्छ । देश प्रेमको पाठ हुन्छ । आफ्नो पेसाको नैतिक जिम्मेवारी हुन्छ । आचरणको पालना गर्ने विषयलगायतका असल गुण नागरिकमा हुनु पर्छ । त्यहाँ भेदभाव वा कुनै जाति भाषा, लिङ्ग आदिको भेदभावरहित कार्य गर्ने विषयको ज्ञान नागरिक शिक्षाबाट नै प्राप्त हुने हुन् । आजका जेनजीमा पनि त्यसै अनुरूपको सिप, ज्ञान र प्रविधिको रोजाइ हुनु स्वाभाविक हो । यो पुस्ता पनि गम्भीर हुनु जरुरी छ । नागरिक चेतना, विकास र सभ्य समाज निर्माणका लागि नागरिक नै जिम्मेवार हुनु जरुरी छ । यसैबाट मानिसमा सकारात्मक भावना, नयाँ सोच र स्वावलम्बी र आत्मविश्वासी हुन बल पुग्छ । नागरिक शिक्षा नै त्यो शिक्षा हो, जसले नागरिक चेतनामार्फत उपराक्त सिप, ज्ञान र कलाको प्रवर्धन गर्छ ।