• १४ माघ २०८२, बुधबार

टिमुरको आम्दानी बाह्र करोडभन्दा बढी

blog

खलङ्गा समाचारदाता

जाजरकोट, माघ १४ गते । जाजरकोटवासीले टिमुर खेतीबाट राम्रो आम्दानी गरेका छन् । जाजरकोटका सात वटा स्थानीय तहका जनताले टिमुर खेती गर्न थालेपछि आम्दानीको स्रोत बनेको हो । यस वर्ष जुनीचाँदे, शिवालय, कुसे, बारेकोट गाउँपालिका तथा छेडागाड नगरपालिका, नलगाड नगरपालिकाका लागि टिम्मुर आम्दानीको स्रोत बनेको छ । जाजरकोटका विभिन्न गाउँबस्तीबाट करिब एक लाख ७८ हजार ८३० किलो टिमुर जिल्लाबाट बाहिर गएको छ । टिमुरले राम्रो मूल्य पाएपछि टिमुर खेतीप्रति जनता आकर्षित भएका छन् । 

डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख दिपेश केसीका अनुसार सामुदायिक वनबाट ४९ हजार १७ किलो, सरकारद्वारा व्यवस्थित वनबाट ३९ हजार ४८ किलो, निजी वनबाट ९० हजार ७६५ किलो गरी कूल एक लाख ७८ हजार ८३० किलो टिमुरको सङ्कलन इजाजत भएको छ । स्थानीय जनताले टिमुरबाट १२ करोड ५१ लाख ८१ हजार रुपियाँ आम्दानी गर्न सफल भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय टिमुर खेती गर्न थालेपछि गाउँबस्तीका सर्वसाधारणको आम्दानीको स्रोत बनेको छ । जुनीचाँदे गाउँपालिका–१ का रामबहादुर रावतले कृषि पेसाबाट बिहानबेलुकाको छाक टार्न समस्यामा परेका सर्वसाधारणले टिमुरबाट घरव्यवहार चलाउन सहज भएको बताउनुभयो । डिभिजन वन कार्यालयबाट इजाजत लिएर गाउँबस्तीमा खरिद गर्न आउने व्यापारीले प्रतिकिलो सात सय रुपियाँका दरले खरिद गरेका छन् । टिमुरबाट एक घरमा करिब ५० हजार रुपियाँभन्दा बढी भित्रिएको छ ।