• १४ माघ २०८२, बुधबार

तीन नाल भरुवा बन्दुकसहित दुई पक्राउ

blog

प्रहरीले बरामद गरेको भरुवा बन्दुकसहित अन्य सामग्री । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले 
स्याङ्जा, माघ १४ गते ।
विरूवा गाउँपालिका –२ झागडीमा तीन वटा भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिनिधि सभा निर्वाचन २०८२ सुरक्षार्थ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी विरूवा अर्चलेबाट खटिएको विशेष सर्च अप्रेसन टोलीले भरुवा बन्दुक, सामग्री र दुई जनालाई पक्राउ गरेको हो ।

लुकाई छिपाई राखेको अवस्थामा स्थानीय ६६ वर्षीय रोमबहादुर राना र ६९ वर्षीय वीरबहादुर थापासहित भरुवा बन्दुक र सामग्री फेला पारेको हो ।

रानाबाट फलामको गजसहितको एक नाले भरूवा बन्दुक दुई थान, बारूद ४८० ग्राम, छर्रा १३५ जान, फलामको चिम्टा दुई थान, फलामको छुच्ची एक थान, सोडा एक केजी तीन सय ग्राम, डेटोनेटर छ थान, लम्बाई आठ फिट नौ इन्च भएको सेफ्टीफ्यूज एक थान, गन्धक ४५० ग्राम, प्लास्टिक एक्सप्लोसिभ किरकी १६० ग्राम, खोका नभएको बुलेट १० थान, खाली खोका एक थान, केप आठ थान, बाघको दाह्रा जस्तो देखिने नुकिलो वस्तु एक थान फेला पारेको हो ।

यस्तै फलामको गज, एक नाले भरूवा बन्दुक एक थानसहित थापा फेला पारेको प्रहरी नायब उपरीक्षक प्रसान्तराज चौधरीले जानाकारी दिनुभयो ।

भरुवा बन्दुक र सासग्रीसहित फेला परेका दुई जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको चौधरीले बताउनुभयो ।