• २० पुस २०८२, आइतबार

प्रतिनिधि सभा निर्वाचन : झापा ५ बाट एमाले अध्यक्ष ओलीको नाम सिफारिस

blog

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली । फाइल तस्बिर

दमक, पुस १९ गते ।  फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले)ले झापाले क्षेत्र नम्बर ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गरेको छ । शनिबार बसेको क्षेत्रीय समन्वय कमिटी बैठकले यस्तो निर्णय गरेको एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिनु भयो । 

कार्कीका अनुसार शनिबार सम्पन्न क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ५ को बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो । 

यो सिफारिसँगै ओली दुई संविधानसभा र पाँच प्रतिनिधिसभा गरेर सातौं पटक चुनाव लड्दै हुनु हुन्छ । पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष अघिल्लो २०७९  निर्वाचनमा झापा ५ बाट फराकिलो मतान्तरले विजयी बन्नु भएको थियो । उहाँ निकटतम प्रतिद्वन्द्वी भन्दा २८ हजार ५७६ मतान्तरले विजयी बन्नु भएको हो ।

उहाँ २०४८ मा बहुदलीय व्यवस्था स्थापनापछिको पहिलो आम निर्वाचनमा झापा–६ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित हुनुभयो भने २०५१ को मध्यावधि निर्वाचनमा झापा–२ बाट प्रतिनिधि सभामा पुनः निर्वाचित हुनु भएको थियो । अध्यक्ष ओली २०५६ मा झापा–६ बाट प्रतिनिधिसभामा निर्वाचित हुनु भयो । २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा पराजित भएका अध्यक्ष ओली २०७० मङ्सिरमा भएको  निर्वाचनमा झापा–७ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।