• २० पुस २०८२, आइतबार

बरिष्ठ पत्रकार शर्माको निधन

blog

अग्रज पत्रकार स्वर्गीय मोहनप्रसाद शर्मा ।

प्रवीण कुमार शर्मा 

रौतहट, पुस १९ गते । रौतहटका बरिष्ठ एबम अग्रज पत्रकार मोहनप्रसाद शर्माको निधन भएको छ । गौर नगरपालिका –५ घर भएका शर्माको शुक्रबार राति ८५ वर्षको उमेरमा निधन भएको हो । 

अग्रज पत्रकार  शर्माले  पत्रकारिता क्षेत्रमा अतुलनीय योगदान गर्नुभएको नेपाल पत्रकार महासंघ रौतहटका सचिव गौतम श्रेष्ठले बताउनुभयो । रौतहटमा पत्रकारिताको जग बसाल्न शर्माको महत्वपूर्ण योगदान रहेको नेपाल पत्रकार महासंघ रौतहटका पूर्व अध्यक्ष प्रेमचन्द्र झाले बताउनुभयो । 

समाजमा चेतना, सुशासन तथा पारदर्शिता कायमका लागि बरिष्ठ पत्रकार शर्मा क्रियाशील रहनु भएको पूर्व अध्यक्ष झाले भन्नुभयो । नेपाल गुप्तचर विभागको जिल्ला जनसम्पर्क अधिकृतको रुपमा काम गर्नुभएका  शर्मा २०४२ सालमा रौतहटमा राष्ट्रिय पञ्चायत सदस्यको उम्मेदवार हुनुहुन्थ्यो । 

उहाँ  रेडियो नेपालमा समाचार बाचक भएर काम गर्नुभएको थियो । उहाँ प्रकाशक तथा सम्पादक रहेको पत्रिका समय धारा साप्ताहिक जिल्ला प्रशासन कार्यालय रौतहटमा २०५२ मङ्सिर १४ गते दर्ता भएको थियो ।

उहाँ युवा उमेरमा नेकपा (पुष्पलाल समूह) को नेता हुनुहुन्थ्यो । उहाँले रौतहटका धेरै युवाहरुलाई बामपन्थी आन्दोलमा डोर्याउनुभएको थियो । पछिल्लो समय माहुरी र माकुरा लेख्ने नेताको रुपमा चिनिनु हुन्थ्यो ।