सन्तोष दहित
दाङ, पुस १९ गते । थारू समुदायको मौलिक कला, संस्कृति, भेषभूषा र परम्पराको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको माघ सांस्कृतिक महोत्सवको उद्घाटनपूर्व घोराहीमा भव्य बजार परिक्रमा सुरु गरिएको छ।
थारू समुदायका महिला तथा पुरुषहरू आफ्नो मौलिक भेषभूषामा सजिएर ढकिया, डेल्वा, माटोको गाग्री, भौकाभौकी, हलो–जुवालगायत आफ्नो पहिचान झल्काउने सामग्री बोकेर बाजागाजासहित बजार परिक्रमामा सहभागी भएका छन्। परिक्रमाले थारू समुदायको मौलिक जीवनशैली, कला र संस्कृतिलाई जीवन्त रूपमा दिने कोशिस गरेका छन् ।
“आर्थिक जागरण व सांस्कृतिक रूपान्तरण हमार अभियान, सामाजिक न्यायसहितके समृद्धिम हमार योगदान” मूल नारासाथ आयोजना हुन लागेको महोत्सव उद्घाटनअघि घोराहीका मुख्य बजार क्षेत्रमा थारू भेषभूषा, कला र संस्कृतिको प्रदर्शन तथा प्रचार–प्रसारका लागि बजार परिक्रमा गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक एवं थारू कल्याणकारिणी सभाका अध्यक्ष अशोक चौधरीले जानकारी दिनु भयो।

बजार परिक्रमापछि सहभागीहरू महोत्सव स्थलमा पुगपेछि कार्यक्रमको औपचारिक उद्घाटन गरिने छ। घोराहीस्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा आयोजना हुन लागेको महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण चौधरीले गर्नु हुने आयोजकले जनाएको छ।
महोत्सवमा सात दर्जनभन्दा बढी मघौटा नाच, छोक्रा, हुर्डुङया, ढुम्रु गीत लगायत विविध सांस्कृतिक प्रस्तुति रहने छन्। साथै थारू परिकारहरू घोङ्घी, माछा, गङ्गटा, ढिक्री, अनडीको रोटी, अनदीको भात, अनदीको झोल, आलुको अचार, सिध्र माछालगायतको बिक्री तथा वितरणका लागि व्यवस्था गरिएको छ।

त्यसैगरी, थारू इतिहास, भाषा, साहित्य र संस्कृतिसँग सम्बन्धित पुस्तकहरूको प्रदर्शनी तथा बिक्रीको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।