कञ्चनपुर, पुस १९ गते । सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जल पक्षीहरूको अवस्था र सङ्ख्या अभिलेख गर्ने उद्देश्यले कञ्चनपुरमा आजदेखि जलपक्षी गणना सुरु गरिएको छ ।
नेपाल पक्षी संरक्षण सङ्घ (बिसिएन) को समन्वय तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका जलाशय, तालतलैया, सिमसार क्षेत्र तथा निकुञ्ज बाहिरका नदी, ताल र सिमसार क्षेत्रमा जलपक्षी गणनाका लागि गणक परिचालन गरिएको जनाइएको छ ।
गणनामा बिसिएन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पक्षीविद् सङ्घ, कनेक्ट परियोजना, जेडएसएल, निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, हिमालय नेचर, नेचर गाइड एशोसिएसन तथा कञ्चनपुर पक्षी संरक्षण समूहका प्रतिनिधि संलग्न छन् ।
नेपाल पक्षी संरक्षण सङ्घका वरिष्ठ चरा विज्ञ हिरुलाल डगौराका अनुसार वाइनाकुलर, दूरबिन, क्यामेरा, जिपिएसलगायतका उपकरणको प्रयोग गरी २० भन्दा बढी गणकमार्फत जलपक्षी गणना भइरहेको छ । हिँडेर पुग्न नसकिने ताल तलैया क्षेत्रमा हात्तीको प्रयोग गरी गणना गरिने छ ।
उहाँका अनुसार निकुञ्जभित्र जलपक्षी लागि प्रसिद्ध शिकारी ताल, बाबा ताल, तारा ताल, रानी ताल, चौधर नदी–बढनी ताल, राधापुर सिमसार, झिलमिला तथा रतनपुर सिमसारमा गणना भइरहेको छ । त्यसैगरी निकुञ्ज बाह्य क्षेत्रमा महाकाली नदी, पुरैनी ताल, बन्दा ताललगायत सिमसार क्षेत्रमा पनि गणना गरिने छ ।
गणनाका क्रममा जलपक्षीका प्रजाति, सङ्ख्या, सम्भावित खतरा, मानव गतिविधि र बासस्थानसँग सम्बन्धित समस्याहरूको विवरण सङ्कलन गरिने छ ।
जलपक्षी गणना प्रत्येक वर्षझैं यस वर्ष पनि जनवरीको पहिलो शनिबारदेखि गरिन्छ । यसवर्ष यही पुस १९ देखि माघ ४ गतेसम्म सञ्चालन हुने छ । चराविज्ञ डगौराका अनुसार कञ्चनपुरका सिमसार क्षेत्रहरू जलपक्षीका लागि महत्त्वपूर्ण भए पनि पछिल्लो समय विभिन्न चुनौतीहरू देखिन थालेका छन् । सिमसार क्षेत्र अतिक्रमण, अवैज्ञानिक रूपमा माछापालन, नदीजन्य पदार्थको दोहन, मानवीय गतिविधि, प्रदूषण तथा जलवायु परिवर्तनका असरले जलपक्षीको बासस्थान खुम्चिँदै गएको उहाँको भनाइ छ ।
“केही वर्षयता कञ्चनपुरका सिमसार क्षेत्रमा जलपक्षीको सङ्ख्या घट्दो क्रममा देखिन थालेको छ”, उहाँले भन्नुभयो, “विशेषगरी आगन्तुक जलपक्षीको आगमनमा उतारचढाव देखिएको छ, जसको प्रमुख कारण बासस्थानको असुरक्षा रहेको छ ।” पहिले एकै तालमा ७० बढी प्रजाति जलपक्षी देखिने गरेकोमा हाल त्यो सङ्ख्या आधाले घटेको उहाँले उल्लेख गर्नु भयो ।
“जलपक्षी जोगाउनका लागि ताल तलैया र सीमसार क्षेत्रमा पछिल्लो अवस्थामा भइरहेको अतिक्रमण हटाउनु पर्ने देखिन्छ”, उहाँले भन्नु भयो । चरा विज्ञ डगौराका अनुसार नेपाल सेन्ट्रल एसियन फ्लाइवे अन्तर्गत पर्ने महत्त्वपूर्ण देश भएकोले एसिया, युरोप तथा साइबेरियाबाट आउने प्रवासी जलपक्षीहरू नेपालका सिमसार क्षेत्रमा आश्रित रहन्छन् । जलपक्षी गणनाले राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा संरक्षण रणनीति तय गर्न महत्त्वपूर्ण आधार प्रदान गर्ने विश्वास लिइएको उहाँको भनाइ छ । रासस