• १९ पुस २०८२, शनिबार

इस्मामा तीन वर्षसम्म पनि हुन सकेन सार्वजनिक सुनुवाइ

blog

इस्मा गाउँपालिकाको कार्यालय । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास(गुल्मी),पुस १९ गते ।
प्रत्येक चौमासिकमा पालिकाले प्रवाह गरेका सेवाका बारेमा सार्वजनिक सुनुवाइ गर्नु पर्ने प्रावधान छ । तर इस्मामा भने पछिल्लो निर्वाचित जनप्रतिनिधि आएपछि सार्वजनिक सुनुवाइ नै नभएको पाइएको छ ।

निर्वाचित भएको साढे तीन वर्ष पूरा हुँदा समेत हालसम्म एउटा पनि सार्वजनिक सुनुवाइ हुन सकेको छैन । हुन त यो इस्माका लागि कुनै नौलो भने होइन । यसभन्दा अगाडिको निर्वाचित टिमले पनि पाँच वर्षको समय अवधिमा दुई वटा मात्रै सार्वजनिक सुनुवाइ गरेको थियो ।

गाउँपालिकाले सार्वजनिक सुनुवाइ नगर्दा पालिकाको सेवाबाट नागरिकले गुनासा तथा सुझाव राख्नबाट वञ्चित भएका छन् । वडा नम्बर ५ इस्मा रजस्थलका स्थानीय नविन अर्यालले समयमा सार्वजनिक सुनुवाइ गरेर जनताका गुनासाहरू स्थानीय सरकारले सुन्नुपर्ने बताउनु भयो । आफूहरूले प्रवाह गरेका कार्यहरूप्रति जनताको प्रतिक्रिया र सुझावहरू पनि आउने भएकाले त्यसबाट पृष्ठपोषण प्राप्त हुने हुँदा त्यसबाट भाग्न नहुने उहाँको तर्क छ ।

गाउँपालिकाका पूर्व उपाध्यक्ष विमला केसीले आफूहरूको पालामा सार्वजनिक सुनुवाई गर्ने कार्यको सुरुवात गरेको बताउनु भयो । नियमित रूपमा गर्न नसके पनि सुरुवात गरेकाले त्यसलाई निरन्तरता दिनु पर्ने बताउनु भयो । जनताका समस्या र गुनासा सुन्नबाट भाग्न नहुने उहाँको तर्क छ ।

इस्मा गाउँपालिकाका सूचना अधिकारी नारायण महतले अघिल्लो कार्यकालमा दुई पटक सार्वजनिक सुनुवाइ भए पनि यस कार्यकालमा हुन नसकेको बताउनु भयो । चालु आर्थिक वर्षका लागि सार्वजनिक सुनुवाइ गर्न भन्दै तीन लाख रुपियाँ बजेटको व्यवस्थापन भए पनि हालसम्म कार्यान्वयन भने हुन नसकेको उहाँको भनाइ छ । यस अघिका वर्षहरूमा पनि बजेटको व्यवस्थापन भए पनि कार्यान्वयन हुन नसकेको बताउनु भयो ।