बिष्णुप्रसाद पोखरेल
दमक, पुस १९ गते । झापा कन्काई नगरपालिका वडा नं. ४ स्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत माईखोला पुल नजिक शनिबार बिहान फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाले निष्क्रिय पारेको छ ।
सडकको उत्तरी भागमा रहेको कालो झोलाभित्र प्रेसर कुकर र तार जस्तो देखिने वस्तु देखेपछि बिहान करिब ६ बजे स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले तत्काल उक्त क्षेत्रलाई घेराबन्दी गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार श्री अरिदमन गणका सेनानी आनन्दकुमार श्रेष्ठको कमाण्डमा बम डिस्पोजल टिमसहित १० जना नेपाली सेनाको टोली बिहान ७ बजेर १५ मिनेटमा घटनास्थलमा पुगेर निष्क्रिय बनाउने कार्य सुरू गरेको थियो ।
सेनाको टोलीले आवश्यक प्रक्रिया र सुरक्षा सावधानी अपनाएर शङ्कास्पद वस्तुलाई सुरक्षित रूपमा १० बजे निष्क्रिय गरेको छ । बिस्फोटक पदार्थ भेटिएको चर्चा चलेपछि स्थानीय क्षेत्रमा उच्च सुरक्षा सावधानी अपनाइएको प्रहरीले जनाएको छ ।