• १४ माघ २०८२, बुधबार

नेपालमा जलपक्षी गणना सुरु

blog

चरा गणना गर्दै चरा गणक । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की
वराहक्षेत्र (सुनसरी) पुस १९ गते ।
नेपालमा बसाइसराई गरेर आउने हिउँदे आगन्तुक जलपक्षीको गणना सुरु भएको छ । राष्ट्रव्यापी रूपमा शनिबारबाट जलपक्षीको गणना सुरु भएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व र नेपाल पन्छीविद् सङ्घको संयोजनमा चरा गणना सुरु गरिएको नेपाल पन्छीविद् सङ्घको कार्यकारी निर्देशक तथा चरा गणनाका राष्ट्रिय संयोजक लक्ष्मण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालसहित एसिया महादेशभरि हरेक वर्ष जनवरी तीनदेखि चरा गणना हुँदैआएको छ । नेपालमा जनकपुरको धनुसाधाम, कमला नदी, घोडाघोडी तालमा शनिबार बिहानैदेखि चराविद् तथा चराका जानकारहरूबाट गणना सुरु गरिएको छ ।

चरा गणनामा खटिएका चराका जानकारहरूले क्यामेरा, दूरबीन, टेलिस्कोपको सहायताले चरा गणना गर्ने बताइएको छ । चरा गणनाको विधि अपनाई दोहोरो नपर्नेगरी गणकहरूले गणना गर्ने संयोजक पौडेलको भनाइ छ ।  नेपालमा सन् १९८७ देखि एसियन वाटरबर्ड सेन्ससले चरा गणनाको सुरु गरेको थियो । सेन्ससले पानीमा बस्ने चरा र बसाइसराई गर्ने चराको अध्ययनका साथै सिमसार क्षेत्रको अवस्था पत्ता लगाई तिनको संरक्षण तथा व्यवस्थापनमा आम नागरिकलाई सुसूचित गराउँदै आएको छ ।  

जनवारीको पहिलो शनिबारबाट दुई हप्ताभित्र राष्ट्रिय निकुञ्ज तथा आरक्ष क्षेत्रको आसपासका ताल वा सिम क्षेत्रहरूमा गणकहरूले समय मिलाएर गणना गरिने भएको छ । नेपालका दस वटा रामसार सूचीमा सूचीकृत क्षेत्र भए पनि भौगोलिक विकटताका कारण ६ वटा सूचीकृत क्षेत्रमा चरा गणना गरिने नेपाल पक्षीविद् सङ्घले जनाएको छ ।

सिमसारक्षेत्र र राष्ट्रिय निकुञ्ज र आरक्ष क्षेत्रभित्र र वरिपरिका क्षेत्रहरूमा विभागको नेतृत्वमा पन्छी गणना प्रत्येक वर्ष हुँदैआएको छ । चरा गणनाका राष्ट्रिय संयोजक लक्ष्मण पोडेलले प्रत्येक वर्ष नेपाली पुस महिनामा चरा गणना गर्ने गरिएको बताउनुभयो । गत वर्ष नेपालभरि ९६ प्रजातिका ९६ हजार ५६५ वटा गणना गरिएको थियो । ४६६ जना चराका जानकारहरूबाट गणना गरिएको पौडेलले बताउनुभयो । यस वर्षको गणनामा चार सयचन्दा बढी गणकहरूले चरा गणना गर्ने जनाइएको छ । नेपालभरिका ७८ वटा सिमसार, खोलानाला, पोखरीमा चरा गणना गरिने छ ।

नौ सय प्रजातिका चराहरु रेकर्ड भएकोमा एकसय ६० भन्दा बढी प्रजातिका चराहरू पानीमा आश्रित रहेका छन् । पानीमा आश्रित चराहरूमा हाँसका प्रजातिहरु, बकुलाका प्रजाति, गरुडका प्रजाति, हुटीट्याउ लगायत पानीमा निर्भर रहने जल चराहरूको विज्ञहरुद्वारा गणना गरिने छ । पानीमा बस्ने चराहरू बढी संवेदनशील हुने भएकाले अनुगमन गर्न सजिलो हुने र यसबाट बसाइसराई गर्ने चराहरूको प्राकृतिक र स्वास्थ्य अवस्था थाहा पाउन सकिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट एवं सूचना अधिकारी हरिभद्र आचार्यले बताउनुभयो ।

जनवरी महिनामा पानीमा आश्रित जलपक्षीहरू प्रजनन् नहुने भएकाले गणना कार्यमा सहज हुने चराविद्हरूको भनाइ छ । जलवायु परिवर्तनको अवस्थालाई चराले प्रतिनिधित्व गर्न सक्ने भएकाले गणना कार्यको थप महत्त्व रहेको बताइएको छ ।