हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), पुस १९ गते । सन् २०२५ मा मुस्ताङमा एक लाख भारतीय धार्मिक पर्यटक पुगेका छन् । हिन्दु धर्मालम्बीहरूको आस्थाको केन्द्र प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शनका लागि भारतीय पर्यटकको सङ्ख्या उत्साहजनक रुपमा बढेको छ ।
सन् २०२५ मा एक लाख ६१ हजार १२२ जना विदेशी पर्यटकको आगमन भएकोमा ९० प्रतिशतभन्दा बढी भारतीय धार्मिक पर्यटक रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)जोमसोमले जनाएको छ । विदेशी पर्यटकमा सार्क राष्ट्रबाट एक लाख ३२ हजार आठ सय ६६ जना सार्क राष्ट्रबाट रहेको एक्याप जोमसोम कार्यालय प्रमुख राजेश गुप्ताले बताउनुभयो ।
एक्याप प्रमुख गुप्ता भन्नुहुन्छ, ‘‘विदेशी पर्यटकको ठूलो हिस्सा भारतीय धार्मिक पर्यटकको छ, हरेक वर्ष भारतीयहरूको सङ्ख्या बढिरहेको छ ।’’ एक्याप जोमसोमको तथ्याङ्कमा सन् २०२४ मा एक लाख ३५ हजार ७१९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएकोमा एक लाख नौ हजार पाँच सय ३९ जना सार्क राष्ट्र«बाट र २६ हजार एक सय ७० जना तेस्रो राष्ट्रबाट रहेका छन् । त्यसैगरी सन् २०२५ मा सार्क राष्ट्रबाट एक लाख ३२ हजार आठ सय ६६ जनाले भ्रमण गरेकोमा तेस्रो राष्ट्रबाट २८ हजार दुई सय ७५ जना रहेका छन् । कुल भ्रमण गरेका विदेशी पर्यटकमा सन् २०२४ को तुलनामा १८.७१ प्रतिशतले पर्यटक बढेको एक्याप जोमसोमले जनाएको छ ।
जसमा ८२.४६ प्रतिशत सार्क राष्ट्र र १७.५४ प्रतिशत तेस्रो राष्ट्रका रहेका छन् । सार्क राष्ट्र बाहेक तेस्रो राष्ट्रमा अधिकांस यूरोपेली मुलुक र अमेरिकाबाट रहेका छन् ।
मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष दिपक लालचनले भारतीय पर्यटकको आगमन बाह्रै महिना हुने गरेको बताउनुभयो । जाडोयाममा समेत मुक्तिनाथ मन्दिरको दर्शनका लागि भारतीय पर्यटक भित्रिएको बताउँदै अध्यक्ष लालचनले भारतमा मुक्तिनाथ मन्दिरको प्रचारप्रसारमा भारतीय सरकारको समेत योगदान रहेको बताउनुभयो ।
एकपटक मुक्तिनाथ दर्शन गर्नुपर्छ भन्ने भारतीयको सङ्कल्पका कारण नेपाल सरकारको सवारी पास अनुमति लिएर बेनी–जोमसोम–कोरला सडकखण्ड र हवाई मार्गबाट मुस्ताङ प्रवेश गर्ने गरेको देखिन्छ ।
भारतीय धार्मिक पर्यटकले सडक सञ्जालबाट मुस्ताङ जाने भारतीयले छिमेकी म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नं ९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरसहित विभिन्न हिन्दु शक्तीपीठको समेत दर्शन गर्ने गरेका छन् । तेस्रो मुलुकका पर्यटकको तुलनामा भारतीय लामो समयसम्म मुस्ताङमा विताउँदैनन् । भारतबाट आउने पर्यटकमध्ये ८० प्रतिशतले आफ्नै सवारी साधन लिएर आउने गरेका छन् । सामान्यतः दुई/तीन रात बिताउने गरेको पाइन्छ ।
सडक सञ्जालबाट मुस्ताङ पुगेपछि गन्तब्यमा फर्किने भारतीय पर्यटकको सङ्ख्या धेरै रहेको वि.स २०७५ सालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण गरेपछि यता भारतीय धार्मिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको मुक्तिनात मन्दिरका पुजारी कृष्णप्रसाद सुबेदीले बताउनुभयो । ‘‘मुक्तिनाथ मन्दिरमा आउने भारतीय दर्शन गरेपछि खुसी हुदै फर्किन्छन्, यहाँ आउने सबैले आफ्नो चाहना पूरा भएको बताउँछन् ।’’ पुजारी सुबेदीले भन्नुभयो । भारतीय पर्यटकले कागबेनीमा समेत स्नान गर्ने गरेका छन् । दक्षिण र उत्तर भारतबाट आउने भारतीयको सङ्ख्या अत्याधिक छ । मुक्तिनाथ मन्दिरमा वार्षिक ८ लाख स्वदेशी तथा विदेशी धार्मिक तिर्थालुले दर्शन गर्ने गरेको पाइन्छ ।