कल्याणपुर समाचारदाता
कल्याणपुर (सप्तरी), पुस १९ गते । हस्तान्तरण भएको आठ महिना र उद्घाटन भएको तीन महिना बित्न लाग्दा पनि नवनिर्मित राजविराज बसपार्क सञ्चालनमा आउन सकेको छैन ।
बसपार्कसम्म पुग्ने बाटो जीर्ण भएको, अव्यावहारिक शुल्क निर्धारण गरिएकोलगायतका कारण देखाएर यातायात व्यवसायीले यातायात सञ्चालन गर्न नमानेपछि बसपार्क सञ्चालनमा आउन नसकेको हो ।
सुविधासम्पन्न बसपार्क सञ्चालनमा नआउँदा राजविराज नगरक्षेत्रभित्र ट्राफिक समस्या बढ्नुका साथै नगरलाई नै कुरूप बनाएको स्थानीयको गुनासो छ । बसपार्क सञ्चालनसम्बन्धी कार्यविधि त्रुटिपूर्ण रहेको भन्दै त्यसलाई नसच्याएसम्म बसपार्कबाट सवारीसाधान नचलाउने माइव्रmो राजविराज ट्राभल्स एजेन्सी प्रालिले जनाएको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन सप्तरीका जिल्ला इन्चार्जसमेत रहेका माइव्रmो ट्राभल्स एजेन्सी प्रालि राजविराजका अध्यक्ष धीरेन्द्र बर्मा (धिरु) ले प्रेस विज्ञप्ति जारी गर्दै राजविराज नगरपालिकाको स्वामित्वमा रहेको नवनिर्मित बसपार्क सञ्चालन तथा व्यवस्थापनका लागि ल्याइएको कार्यविधि–२०८२ त्रुटिपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले नगरपालिकाले कार्यविधि ल्याउँदा यातायात सञ्चालक र यातायात मजदुरको प्रतिनिधि नराखेको तथा बसपार्क प्रवेश शुल्क, बस पार्किङ शुल्क, शौचालय शुल्क, बुकिङ काउन्टरलगायतका शुल्क मनपरी ढङ्गले कायम गरिएको बताउनुभयो । यातायात व्यवसायी र यातायात मजदुरका प्रतिनिधि राखेर छलफल गरी कार्यविधिमा देखिएको त्रुटि सच्याउनुपर्ने माग यातायात व्यवसायीको छ ।
नगरपालिकाले २०८२ साल वैशाख ३१ गते कार्यपालिका बैठकबाट स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १ को उपदफा ७ बमोजिम बसपार्क सञ्चालनका लागि कार्यविधि जारी गरेको थियो ।
गत असोज २५ गते राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले बसपार्क उद्घाटन गरिसक्नुभएको छ । बसपार्क सञ्चालनमा ल्याउन नगरपालिकाले टेन्डर गरिसकेको र शुल्क घटाएर भए पनि सञ्चालनमा ल्याइने कार्यवाहक नगरप्रमुख इसरत परविनले बताउनुभयो ।