इमान सिं राना
रामपुर (पाल्पा), पुस १९ गते । सरस्वती माध्यमिक विद्यालय रामपुर नगरपालिका–२, स्वामी भञ्ज्याङ्गमा विद्यार्थीलाई न्यानो कपडासँगै विद्यालयलाई पुस्तक प्रदान गरिएको छ । कालीगण्डकी फाउण्डेशन नेपालले विद्यार्थीका लागि स्वीटर वितरणसँगै पुस्तकालयका लागि पुस्तक हस्तान्तरण गरेको हो ।
विद्यालयमा अध्ययनरत ७१ जना विद्यार्थीलाई न्यानो कपडा र पुस्तकालयका लागि एक सय ६० थान पुस्तक प्रदान गरेको हो । कालीगण्डकी फाउण्डेशन नेपालका सल्लाहकार सन्दिप रानाले प्रदान गरिएका पुस्तकहरूले शिक्षण–सिकाइ प्रक्रियामा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विगतको तुलनामा सामुदायिक विद्यालयहरूमा आवश्यक सुविधा क्रमशः थप हुँदै गएको उल्लेख गर्दै विद्यार्थीहरूलाई मेहनतका साथ अध्ययन गर्न आग्रह गर्नुभयो ।
कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीले विद्यार्थीको अध्ययनमा सहजता प्रदान गर्नको लागि पुस्तक तथा चिसो मौसमका लागि न्यानो कपडा वितरण गरिएको बताउनुभयो । पछिल्लो समय विकास गाउँगाउँमा पुगे पनि, अधिकांश मानिसहरु शहर केन्द्रित भइरहेको सन्दर्भमा ग्रामीण क्षेत्रका विद्यार्थी र विद्यालयको अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । कालीगण्डकी फाउण्डेशन नेपालका उपाध्यक्ष पवित्रा पौडेल ढकालले फाउण्डेशनले शिक्षा, स्वास्थ्य र कृषि लगायतका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
रामपुर –२ का वडा अध्यक्ष कृष्णबहादुर दर्जीले विद्यालयले सिमित स्रोत र साधनका बिच उत्कृष्ट नतिजा प्रदान गर्दै आएको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखराज थापाले विद्यालय र विद्यार्थीको हितमा सहयोग गरेकोमा कालीगण्डकी फाउण्डेशन नेपालप्रति आभार व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक रामचन्द्र पोखरेलले आर्थिक रुपमा सक्षम विद्यार्थीहरु बजार क्षेत्रमा रहेको र निम्न वर्गीय परिवारका विद्यार्थीहरुको लागि प्राप्त सामग्रीले शिक्षण सिकाईमा ठुलो सहयोग गर्ने बताउनुभयो । पुस्तकालयका लागि धार्मिक, दर्शन, साहित्य, सामान्य ज्ञान तथा पाठ्यक्रमसँग सम्बन्धित पुस्तक प्रदान गरिएको हो ।
यस्तै, सरस्वती माविमा फिल्मको च्यारिटी शो मार्फत सङ्कलन भएको रकमबाट युवाहरुले अक्षयकोष स्थापना गरेका छन् । स्थानीय युवाहरु मोहनबहादुर थापा, अमिर बहादुर राना, लक्ष्मण थापा र महेन्द्र थापाले गत वर्ष रामपुर–५, मगर भाषाको चलचित्र दिलसराको च्यारिटी सो प्रदर्शनी गरेका थिए । टिकट बिक्रीबाट आएको रकममध्ये खर्च कटाएर बचेको रकममा युवाहरुले केही रकम थप गरी ५० हजार राशीको अक्षयकोष स्थापना गरेको हो । रकम हस्तान्तरण गर्दै मोहनबहादुर थापाले सामाजिक कार्यका लागि चलचित्रको च्यारीटी शो प्रदर्शनी गरिएको र सोही अनुसार अक्षयकोष स्थापना गरिएको बताउनुभयो ।