• १९ पुस २०८२, शनिबार

जुनकिरीको बाटो (कविता)

blog

अँध्यारैअँध्याराका बिचबाट 

अनिश्चितताको गरुङ्गो भारी बोकेर 

सुदूर क्षितिजसम्म 

अलिकति भए पनि 

क्षणभङ्गुर उज्यालो भेटिन्छ कि भनी  

जुनकिरीलाई

पिलपिल पिलपिल पछ्याउँदै जाँदा 

त्यही जुनकिरी ठुलो सपना थियो उसका लागि । 

जुनकिरी सपनाहरूले 

खेद्दै जाँदा 

जिउने उपक्रममा 

घरी घरी ऊ पसिनाको परिश्रम बाँच्यो होला 

घरी घरी जीवनको एक मिठो भ्रम साँच्यो होला 

जित्न नसके पनि 


अनेक प्रहारबाट 

किञ्चित हार नखाने 

छालहरूले हान्दाहान्दै 

मूर्ति हुन लागेको पत्थर जस्तै 

किरिङमिरिङ धर्साहरूमा 

जीवनको अर्थ खोज्दै हिँडेको  

निशान्तको यात्री ऊ 

जुनकिरीको बाटो पछ्याउँदापछ्याउँदै 

आज सिङ्गै जुन 

उसको हात लागेको छ । 

कति अन्तर रहेछ 

एक निमेषमै  

हुनु र नहुनुका बिच 

केही पाउने र भ्रममा रमाउनुबिच  

साँच्चै सानो कुरा त होइन रहेछ

जुनकिरीलाई पछ्याउँदापछ्याउँदै 


सिङ्गै जून भेट्नु भनेको 

जीवनको लय खोज्दाखोज्दै 

सिङ्गै धुन भेट्नु भनेको ।