• १९ पुस २०८२, शनिबार

सामाजिक उत्पीडनको प्रतिरोध

blog

कवि युवराज अधिकारीको दोस्रो कवितासङ्ग्रह ‘युद्ध युद्ध नै हुन्छ’ सार्वजनिक भएको छ । उहाँका कविताले समाजमा सकारात्मक साहित्यिक ऊर्जा सञ्चार गर्नेमा दुईमत छैन । समकालीन नेपाली कविता फाँटले ‘युद्ध, युद्ध नै हुन्छ’ पढेपछि युवराज अधिकारीलाई एक उम्दा र अब्बल साहित्यसर्जकका रूपमा पक्कै पनि आमन्त्रण गर्ने छ । यस सङ्ग्रहका कविताले नेपाली समाजमा व्याप्त आमगुनासो, सत्ताप्रतिको आक्रोश र राजनीतिक उत्पीडनको सिकार बन्न अभिशप्त जनताको अन्तर्मनको आवाजलाई उधिनेको छ ।  

चर्चित अमेरिकी कवि ल्याङ्स्टन ह्युजका कवितामा जस्तै कवि युवराज अधिकारीका कवितामा पनि यथेष्ट स्मृतिदंशजन्य निक्खर एवं शक्तिशाली मौलिक रैथाने अभिव्यक्ति छन् । कविले आफ्नो लेख्य शीर्षकलाई अलिक भिन्न रूपमा ग्रहण गर्दैगर्दा सङ्ग्रहका अधिकांश कविताले मानवीय सम्बन्ध र तिनका अवयवसँग तादात्म्य देखाएको पाइन्छ । सङ्ग्रहको खास विशेषता के हो भने कविले काव्यका विषवस्तुलाई नयाँ ढङ्गले पुनः परिभाषित गर्न खोज्नुभएको छ । उहाँलाई लाग्छ– मान्छेको जीवन असङ्ख्य भावनाहरूको एकमुस्ट पोको हो । कविले यसलाई आफ्नै मनको पानामा लिपिबद्ध गर्ने प्रयत्न गर्नुभएको पाइन्छ । पुस्तान्तर, बुढ्यौली, आधुनिकता जस्ता विषयले कविता–क्यानभासमा रङ्गिन पाएका छन् । मुलुकको जल्दोबल्दो विविध समस्यालाई यथावस्थामै चित्रण गर्नुभएको छ उहाँले । फलतः ती समस्याले एकखाले आवाज प्राप्त मात्रै गरेका छैनन्, तिनको सम्बोधनका निम्ति ताकितारूपी खबरदारीसमेत प्राप्त गरेका छन् । 

वैचारिक जग बलियो भएर पनि हुन सक्छ, घरी घरी त उहाँको कवितामा जीवन दर्शनको स्वाद पनि पाइन्छ । कवितामा कतिपय मसिना विवरणलाई पनि गम्भीर रूपमा प्रस्तुत गरिएको छ । उहाँले कवितामार्फत सङ्केत गरेको समाज यस्तो हो; जहाँ साम्प्रदायिक प्रेम, धार्मिक भावमन्थन, भाषिक निकटता र वर्गीय सहिष्णुता स्थापित भएको होस् । विविध जातजाति, धर्म, पेसा, वर्गका बासिन्दाको एकता र सद्भाव कायम रहेको होस् । सारमा, एउटा सुन्दर इन्द्रेणी समाजयुक्त मुलुकको कल्पना कविले गरेका छन् । 

पछिल्लो समय विश्वमै साम्प्रदायिक–वैचारिक विभाजनको खतरा देखिएको छ । सिङ्गो विश्व व्यवस्था र वैश्विक समाज विविध कारणले छिन्नभिन्न छ । सर्वत्र युद्धको विभीषिका र मनोमालिन्य व्याप्त छ । विभिन्न जिम्मेवार तहमा आसीन व्यक्तिले साम्प्रदायिक एकता भड्काउने/खल्बल्याउने नियोजित अभिव्यक्ति दिइरहेको सन्दर्भमा साम्प्रदायिक एकताको पक्षमा कवि दरिलो गरी उभिनुभएको छ । यो कवितासङ्ग्रहले वैचारिक एकतामा त जोड दिन्छ नै, सँगै सामाजिक चेतनाको स्तर उकास्ने ऊर्जा पनि थप्छ जनमानसमा । उहाँका धेरै जसो कविता विषयवस्तुका हिसाबले रुचिकर छन् भने मेहनतका हिसाबले अब्बल र पठनीय छन् ।  

कविताले समाजलाई रातारात कायापलट गरिहाल्ने वा कुनै समाज निर्माणमा ओजश्वी प्रभाव पारिहाल्छ भन्ने त होइन तर कविताले समग्र वैचारिकी (कलेक्टिभ कन्सिअसनेस) लाई परिवर्तनकामी चाहिँ अवश्य नै तुल्याउँछ; जुन अधिकारीका कविताले गरेका छन् भन्न सकिन्छ । सरल समाज आधुनिकता वा जटिलतातर्फ जाँदै गर्दा गुजार्ने सङ्क्रमणका यावत् चरणलाई केलाउने व्रmममा यथास्थितिवादी सोचलाई सर्लक्क छिमलेर फाल्नुपर्ने मत कविको देखिन्छ । उहाँका कवितालाई उहाँकै कविताको गुणवेत्ताको दृष्टिबाट हेर्दा कविताको सौन्दर्य अझ बढ्ता निखारिएको देखिन्छ । उहाँका कवितालाई सोलोडोलो नेपाली कविता लेखन परम्पराको जटिल र कसिलो केन्द्रमा राखेर हेर्नुभन्दा समाज रूपान्तरणको पक्षमा सिर्जित साहित्य सिर्जनाका रूपमा वस्तुगत टिप्पणी गर्नु श्रेयस्कर हुन्छ । उहाँको अभिव्यक्तिमा मानवशास्त्रीय दृष्टिविन्दु पनि भेटिन्छ । 

अन्तर्राष्ट्रियकरणको उकालो चढ्दै गरेको नेपाली बहुसांस्कृतिक अभ्यासभित्रका भावनात्मक आयामलाई एउटा अब्बल मानवशास्त्रीले झैँ गहन रूपले सरल भाषामा कवितारूपी सजीव चित्र कोर्नुभएको छ, कविले आफ्नो कवितासङ्ग्रहमा । कवितामा आमनेपालीको सोलोडोलो भावना नै प्रतिविम्बित हुने गरी विषयवस्तु नियाल्नु अधिकारीको उल्लेख्य खुबी हो । ‘माउन्ट एभरेस्टभन्दा अग्लो ऊ’ शीर्षकको कवितामा उहाँले मुलुकको भ्रष्ट संस्कृतिमाथि तिखो प्रहार गर्नुभएको छ । कुसंस्कृतिको पहाडले थिचिएको नेपाली प्रशासनिक अभ्यासमाथि उस्तै धारिलो प्रहार गरिएको छ । माउन्ट एभरेस्टभन्दा पनि अग्लो भ्रष्टाचारी र बेइमानले हासिल गरेको कथित सामाजिक पुँजीको खिलापमा उहाँले हेनरी फोर्डलाई स्मरण गर्दै शासकीय इमानको निम्ति व्यक्ति सर्वप्रथम आफैँसित इमानदार हुनुपर्ने मत जाहेर गर्नुभएको छ । उक्त कवितामा कवि यस्तो लेख्नुहुन्छ–

‘माउन्ट एभरेस्टभन्दा पनि अग्लो 

भ्रष्टाचारीको अभिमानै छ 

आफ्नै आँखाअगाडि 

त्यही भ्रष्टाचारीको टाकुराबाट 

निःसृत पानी पिएर बाँचेका 

नामर्दहरूको, जी/हजुरीको कुसंस्कृतिले 

अभिशप्त मेरो परिवेश दुखेको बेला 

अट्टहास रावणको हाँसो हाँस्ने 

माउन्ट एभरेस्टभन्दा पनि अग्लो भ्रष्टले 

नानीहरूलाई उपदेश दिइरहेछ...’

उहाँका कविताको भावनात्मक सघनता बुझ्न ‘रूपान्तरण’ शीर्षकको कविता मात्रै पढे पनि पुग्छ । उक्त कवितामा कविले डोको, नाम्लो र दाम्लोको विम्बमार्फत डिजिटल, ¥याप, पप र टाटु पुस्ताको चित्रण गर्नुभएको छ । युवा सपनाको सिर्जनात्मक पुनर्बोध पनि गरिएको छ, सो कवितामा । केवल एक पटक मात्रै आफ्नै बाबाआमा बाजेबज्यैका निम्ति अदम्य उत्साह र जोस बोकेका तन्नेरीहरू आउनुपर्ने उद्घोष कविले गर्नुभएको छ । उहाँ माटोको विम्ब खुब सुन्दर रूपमा चलाउन सिपालु देखिनुहुन्छ र स्वाभिमानको परिभाषालाई थप सौन्दर्यीकरण गर्नुहुन्छ । इतिहासले सबैको मन र मानसपटल झकझकाउनुपर्ने राय कविको हो । युवा जोस र जाँगरका देदीप्यमान ज्योतिलाई देशको माटोले गुहारिरहेको मजबुत तर्क पनि छ, कविको । कवि अधिकारी आह्वान गर्नुहुन्छ– युवाको नसामा बहने रगतका थोपाहरूमा स्वाभिमान बहनु पर्छ र युवा ऊर्जामा स्वाधीनता छचल्किनु पर्छ । 

कवि कवितामा राष्ट्रको सार तत्वलाई यसरी अभिव्यक्त गर्नुहुन्छ कि हरेक पाठकभित्र राष्ट्रप्रतिको दायित्वबोधको भावना उर्लिएर आउँछ । उहाँलाई लाग्छ, भावी सन्ततिको स्वाधीनतापूर्वक बाँच्ने आधार पनि त्यही राष्ट्रप्रतिको दायित्वबोध नै हो । उहाँका कविताहरू उम्दा नै छन् । यसैमध्ये दृष्टान्तका रूपमा ‘जिउँदा मान्छेहरू’ शीर्षकको कविता अत्यन्तै प्रेरणास्पद लाग्छ; जहाँ कविले खुट्टाविहीनहरूले पनि पहाडका टाकुरा टेकेको दृश्य कल्पिनुभएको छ; जुन अत्यन्तै प्रभावशाली प्रेरणादायी अभिव्यक्ति हो । कैयौँ खुट्टाविहीनले सग्ला मान्छेहरूसित प्रतिस्पर्धामा उत्रिइरहँदा सद्दे भनिएकाहरू नै यहाँ सबैभन्दा बढी अक्षम रहेको व्यङ्ग्य कस्नुभएको छ, कविले । यो ‘सटायरिकल फ्लेभर’ को कविताले पाठकलाई द्रवीभूत तुल्याउँछ । सोही ‘जिउँदा मान्छेहरू’ शीर्षकको कवितामा कवि लेख्नुहुन्छ– 

‘...राजा परीक्षितले 

कलियुगलाई समातेको जस्तो 

यो सत्य भूलोकको कथा 

यो बलिरहेको आगोको धुवाँको कथा  

ज्वालामा झिल्सिएर 

हाँस्नेहरूको कथा 

सङ्कटको घाँटीमा चिसो पानी भएर 

बहनेहरूको कथा  

समाजको विडम्बना र न्यायको कठोर घर्षणमा

ती मुटुहरू चम्किएर निस्कँदै 

धमिलिएको आकाशमा 

देखिएका प्रेतात्माहरूलाई तर्साउन 

चट्याङ भएर पड्किन्छन् धरतीमा ।’ 

अन्त्यमा, समाजशास्त्रीय आँखाबाट हेर्दा होस् अथवा मानवशास्त्रीय आँखाबाट हेर्दा नै किन नहोस्– उहाँका कविताले सांस्कृतिक रूपान्तरणका पक्षमा आवाज चर्को बनाएका छन् । प्रख्यात राजनीतिक दार्शनिक एवं विचारक कार्ल माक्र्सको आँखाबाट हेर्ने हो भने उहाँका कविताले वर्गीय विभेद गर्ने शासक वा शोषकलाई औँला उठाएका छन् । एउटा वर्ग जहिले पनि दबिइरहन्छ र अर्को वर्गले चाहिँ दबाइरहन्छ । त्यही दबिरहन बाध्य पिँधको वर्गका पीडा, व्यथा र उत्पीडनलाई कविले कतिपय कविताको मूल विषय बनाउनुभएको छ । वस्तुगत रूपमा सिर्जनाको आँखाबाट हेर्दा उहाँका कविताको सौन्दर्यविधान उम्दा लाग्छ । आफ्ना कवितामा कवि युवराज अधिकारीले स्वाभिमानको ‘ब्रस’ ले कोमल भावनाको रङ भर्नुभएको छ, ‘युद्ध युद्ध नै हुन्छ’ भित्र सङ्गृहीत आफ्ना ३३ वटै कवितामा ।