नेपालका ठुला टारमध्ये एक हो– रुम्जाटार । नेपाल एकीकरणपूर्व किराँत वंशले राज्य गरेको यो ऐतिहासिक भूमिमा पहिले रुम्दाली राईको बसोबास थियो । रुम्दाली राई बसोबास गर्ने भएकाले रुम्जाटारलाई पहिले ‘रुम्दाटार’ भनिन्थ्यो । रुम्दाटार अपभ्रंश हुँदै बोलीचालीमा सजिलोका लागि रुम्जाटार भन्न थालियो भन्ने तर्क पनि सुनिन्छ ।
नेपाली समाजमा ‘घुमिफिरी रुम्जाटार’ उखान प्रचलित छ । रुम्जाटारको राढीपाखीको पनि उल्कै चर्चा इतिहासमा पाइन्छ । ‘रुम्जाटार’ नामकरण बाइसे/चौबिसे राज्यकै बेला भएको किंवदन्ती पाइन्छ । त्यस समय ‘रुम बुढा’ नामका किराँती राजाले ‘रुम्जाटार’ मा राज्य गरेको र त्यही शब्द अपभ्रंश हुँदै ‘रुम्जाटार’ रहन गएको किंवदन्ती पाइन्छ ।
नेपालका ठुला टारमध्ये एक हो– रुम्जाटार । नेपाल एकीकरणपूर्व किराँत वंशले राज्य गरेको यो ऐतिहासिक भूमिमा पहिले रुम्दाली राईको बसोबास रहेको थियो । रुम्दाली राई बसोबास गर्ने भएकाले रुम्जाटारलाई पहिले ‘रुम्दाटार’ भनिन्थ्यो । रुम्दाटार अपभ्रंश हुँदै बोलीचालीमा सजिलोका लागि रुम्जाटार भन्न थालियो भन्ने तर्क पनि सुनिन्छ । पृथ्वीनारयण शाहले पूर्वका राज्य एकीकरणका क्रममा रुम्जाटारमा आक्रमण गरी कब्जामा लिएपछि रुम्जाटारमा तमु गुरुङ समुदायको बसोबास सुरु भएको पाइन्छ ।
दरबार सम्बन्ध
रुम्जाटारकी मेलवादेवी गुरुङ चन्द्रशमशेरको दरबारमा तालिमे नानीका रूपमा प्रवेश गरेकी थिइन् । उनै मेलवादेवीलाई ‘ठुमरीकी रानी’ पनि भनिन्छ । उनी दरबारमा गीत गाउँथिन् । रुम्जाटारका स्थानीय चम्पा सिंहकी कान्छी दिदी त्रिभुवनको कान्छी रानीसाहेब हुन् । रुम्जाटारकै रम्बा गुरुङ (उहाँलाई दरबारमा गीता गुरुङ र पछि मनकुमारी शाह भनेरसमेत चिनाइयो) राजा महेन्द्रकी पहिलो रानी बनिन् तर अवैध मानियो । महेन्द्र र रम्बाबाट जन्मेका रवीन्द्र शाह वीरेन्द्रभन्दा जेठो भए पनि राजा हुन दिइएन । रुम्जाटारकी हैयानानी राजा वीरेन्द्रकी धर्मआमा हुन् ।
धार्मिक हिसाबले विसं १९०० को अन्त्यतिरबाट रुम्जाटारका गुरुङ दरबारनिकट हुँदै गएपछि हिन्दु धर्मको प्रभाव बढ्दै गएको पाइन्छ । श्री ३ चन्द्रशमशेर, राजा वीरेन्द्रदेखि अन्य राजपरिवारका सदस्यको धाईआमाका रूपमा रुम्जाटारका गुरुङ महिला थिए । त्यतिबेला राजदरबार र रुम्जाटारको सम्बन्ध सुमधुर थियो । त्यसको प्रत्यक्ष उदाहरण राजा महेन्द्रलाई लिन सकिन्छ ।
विसं २०१३ फागुन ६ गते राजा महेन्द्र रुम्जाटार पुगेका थिए । त्यतिबेला राजा महेन्द्रले रुम्जाटारमा दुई रात बिताए । पूर्वाञ्चल भ्रमण क्रममा राजा वीरेन्द्रले समेत रुम्जाटार टेके । राजा वीरेन्द्र रुम्जाटार आउँदा ‘वेलकम रुम्जाटार’ लेखिएको राडी उपहार दिएर स्वागत गरिएको थियो ।
प्रथम गायिकाको जन्मस्थल
पहिलो नेपाली रेकर्डेड गीत ‘सवारी मेरो रेलैमा’ की सर्जक एवं नेपालकी आधुनिक गीतकी प्रथम महिला गायिका मेलवादेवीको जन्म रुम्जाटारमा भएको थियो । विसं १९६५ तिर चन्द्रशमशेरका दरबारमा मेलवादेवी गीत गाउन थालिन् । उनी दरबारको रङ्गमञ्च, सभा समारोहका अतिरिक्त चन्द्रशमशेरसँगै सिकारमा जङ्गल पुगेरसमेत गीत गाउँथिन् । नेपालमा औपचारिक साङ्गीतिक इतिहास आरम्भ यहीँबाट सुरुवात भएको मानिन्छ । मेलवादेवीको स्वरका ईष्र्यालु दरबारका कारिन्दाले बनारसी पानको बिडामा सिन्दूर मिसाएर खुवाएपछि मेलवादेवीको स्वर बिग्रिएको थियो । मेलवादेवीका केही गीत आजपर्यन्त कालजयी छन् ।
बिरानो देशैमा लैलै
मै मरी जाउँला बरिलैलै
रोइदिने कोही छैन
सवारी मैरो रेलैमा ।
राडीपाखी र लाहुरे गाउँ
रुम्जाटारलाई लाहुरे बस्ती भनेर पनि चिनिन्छ । गुरुङका हरेक घरमा कोही न कोही लाहुरे छन् । पहिलो प्राथमिकता बेलायती सेनामा जाने, नभए भारतीय र नेपाली सेनामा भए पनि भर्ती हुने प्रचलन यतातिर छ । बेलायत यहाँका ‘लाहुरे’ हरूको विशेष गन्तव्य हो । ब्रिटिस क्याम्प नै स्थापना गरेर युवाको छाती नापेर उता सप्लाई गरिरहेको छ– रुम्जाटारले ।
गुरुङ समुदायले रुम्जाटारमा दुई सय वर्षअघिदेखि भेडा पाल्न थालेका हुन् । उनीहरूले राडीपाखी बुन्न थालेको पनि त्यति नै भयो । यहाँ उत्पादित राडीपाखी त्यतिबेला राजदरबारसम्म पु¥याइन्थ्यो । रुम्जाटारको राडीपाखीको चर्चा दरबारसम्म चल्थ्यो । गुरुङ समुदायको मुख्य बसोबास र मिश्रित समुदाय रहेको रुम्जाटार उद्यमीको केन्द्र पनि हो । रुम्जाटारसँग राडीपाखी जोडिएर आउँछ । यहाँ उत्पादित राडीपाखी संसारमै कहलिएको छ । पाहुनापाछा आउँदा अतिथि सत्कारका लागि ओछ्याइने यहाँको राडी नेपालमा मात्रै होइन, अमेरिका, जर्मनी र जापानसम्म निर्यात गरिन्छन् ।
गुरुङ समुदायका पछिल्ला पुस्ताले पुख्र्यौली व्यवसायलाई निरन्तरता दिन छाडेका छन् । थोरैले मात्रै सुखदुःख गरी पुख्र्यौली व्यवसाय धानिरहेका छन् । पुख्र्यौली व्यवसाय धराप परेपछि राडीपाखी बुन्दा चाहिने राटा, चर्खा, उन फर्काउने, कात्ने, राडी फर्काउने सामग्री कामै नलाग्ने भइसकेका छन् ।
रुम्जाटारे गुरुङका ती भेडीगोठका कथा अब सुनिन छाडेको छ । २०४० सालसम्म रुम्जाटारमा करिब ५० हजार भेडा पालिन्थ्यो । एक घरमा कम्तीमा ३०÷४० भेडा हुन्थे । धेरै जसोले सयभन्दा बढी भेडा पाल्थे । समूहमा मिसाएर भेडा चराउने चलन थियो । रुम्जाटारमा भेडा नपाल्ने घरलाई छोरी दिँदैनथे । छोरी दिँदा धनी परिवारले दाइजोमा भेडीगोठ नै दिन्थे । भेडापालन र राडीपाखी रुम्जाटारको पहिचान थियो । रुम्जाटार विमानस्थलदेखि विमानमार्फत राडी काठमाडौँ लगिन्थ्यो । भक्तपुरका व्यापारी राडीपाखी लिन विमानस्थलसम्मै आइपुग्थे । रुम्जाटारको प्रत्येक घरमा राडीपाखी बुनिन्थ्यो । अहिले लोपोन्मुख अवस्थामा रहेको स्थानीय बताउँछन् । पहिला अतिथि सत्कारका लागि राडी ओछ्याइने घर र घरमूलीको इज्जत गरिन्थ्यो । ‘राडी ओछ्याएर नियमित सुत्ने गरेमा डाइबिटिज र बाथरोग बिसको उन्नाइस हुँदै जान्छ’ भन्ने पनि गरिन्छ ।
रुम्जाटारे सुन्तला
यताको सुन्तलाको लोकप्रियता उस्तै । यहाँको रातोमाटोमा फलेको सुन्तलाको स्वाद माघसम्म चाख्न पाइन्छ । रुम्जाटारको अर्को पहिचान हो– सुन्तला । प्रत्येक घरमा सुन्तलाका बगैँचा हुन्थे, ती केही मात्रामा बाँकी छन् । मङ्सिर लागेपछि पहेँलपुर बगैँचाले मन्त्रमुग्ध बनाउँथ्यो । समथर भूभाग र पारिलो ठाउँको सुन्तला भएकाले पहिले रुम्जाटारको सुन्तला स्वादिलो मानिन्थ्यो । अहिले फलेका धेरै जसो अमिलो हुने गरेको पाइन्छ । एक दशकअघिसम्म जिल्लामै सबैभन्दा बढी सुन्तला फल्ने भनेर चिनिएको रुम्जाटार अहिले पछि परिसकेको कृषि ज्ञान केन्द्र ओखलढुङ्गाले जनाएको छ ।
लोप भए पर्मेली मेला
समुद्र सतहदेखि ४,५०० फिट उचाइमा रहेको रुम्जाटारमा हुने मुख्य बाली कोदो र मकै हो । मकैभन्दा पनि कोदो बाली यहाँ बढी प्रख्यात छ । रुम्जाटारको कोदो रसिलो मानिन्छ । त्यसै कारण यहाँको कोदोलाई बजारको समस्या छैन । खासगरी पर्यटकीय गन्तव्य रहेका हिमाली क्षेत्रमा कोदोको माग अधिक छ । तोङ्बा, जाँड, रक्सी, ढिँडोका लागि यहाँको कोदो पर्यटकीय स्थल सोलुखुम्बुका विभिन्न भागमा बढी निकासी हुन्छ । टारी खेतका फाँटमा झुल्ने धान खेती पनि रुम्जाटारको अर्को विशेषता हो । स्थानीय मौसम अनुसार कोदो, मकै, धान रोप्ने, गोड्ने र टिप्ने गजबको पर्मेली संस्कृति थियो । अहिले पर्मेली गीत र पर्म दुवै हराउँदै गएको छ ।
आँगनमै हवाई मैदान
रुम्जाटारमा विमानस्थल निर्माणको खाका अनुसार विसं २०१९ मा सर्भे भएको थियो । २०२६ मा सर्वप्रथम पिलाटस पोर्टरले अवतरण सुरु गरेको इतिहास पाइन्छ । २०३१ देखि नियमित रूपमा राष्ट्रिय ध्वजावाहक नेपाल एयर लाइन्स र यती एयरलाइन्सले उडान सेवा सुचारु गरेका थिए । यो एयरपोर्ट माओवादी जनयुद्धकालीन जीवनको एक नकारात्मक विम्ब बनेर बसेको इतिहास छ । २०५९ कात्तिक १० गते रुम्जाटार विमानस्थलमा रहेको सेनाको क्याम्पमाथि माओवादीले आक्रमण गर्दा २७ जना माओवादी लडाकू र क्याप्टेनसहित दुई सैनिक मारिएका थिए ।
पर्यटकीय गन्तव्य
रुम्जाटारको गुम्बा, यहाँबाट देखिने मनोरम दृश्य र स्थानीय सुन्दरताले पर्यटकलाई लोभ्याउने गरेको छ । अविरल बगिरहेका ठोट्ने र सिस्नेखोला रुम्जाटारको करेसाबाटै बगे जस्तो देखिन्छ । केही वर्षअघि कोशी प्रदेश सरकारले रुम्जाटारलाई स्मार्ट सिटी बनाउने अवधारणासहितको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएको थियो । सोही अनुसार स्मार्ट सिटीकै काम अघि बढेको छ । रुम्जाटार विकास पथमा लम्कँदै छ । तथापि विकासका काम अघि बढाउँदै गर्दा स्थानीय मौलिकता, कला, सम्पदा र पहिचानको जगेर्ना गर्नु पनि उत्तिकै आवश्यक छ ।
रुम्जाटार धार्मिक हिसाबले चिनाउन जोसमनी धार्मिक–आध्यात्मिक जागरण र अभियानका एक सशक्त सन्तकवि ज्ञानदिलदासको पनि विशेष देन रहेको छ । विसं १९०० तिर जोसमनी म त प्रचार गर्दै ज्ञानदिलदासले रुम्जाटारमै बसेर ‘उदयलहरी’ लेखेका थिए । उनले लेखेको रुम्जाटारसँग सम्बन्धित टुक्का भजन पनि उत्तिकै चर्चामा रहेको छ । यो कविता रुम्जाटारको हकमा इतिहास नभएर वर्तमान बनेको छ । चर्चित टुक्का भजन यस्तो छ–
रुम्जाटारको कोदोको पिठो निर्गुणको दाउन
ज्ञानगुण जति गुरुङले लगे छक्क प¥यो बाहुन