• १९ पुस २०८२, शनिबार

क्याम्पसलाई आङ्गिक बनाउन जुम्लावासीको माग

blog

शिक्षामन्त्री महावीर पुनसँग आङ्गिक क्याम्पस बनाउन मागपत्र प्रस्तुत गरिँदै । तस्बिर : सिँजा गाउँपालिका

जुम्ला समाचारदाता

जुम्ला, पुस १९ गते । जुम्लाको सिँजा बहुमुखी क्याम्पसलाई आङ्गिक बनाउन माग गरिएको छ । शिक्षामन्त्री महावीर पुनलाई भेटेर सिँ जा बहुमुखी क्याम्पसलाई आङ्गिक बनाउन माग गरिएको हो । सिँजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालको नेतृत्वमा जनप्रतिनिधि, राजनीतिक दलसहितको टोली मन्त्रालयमा पुगी माग गरिएको छ । २०६७ सालमा स्थापना भएको क्याम्पस हालसम्म त्रिभुवन विश्वविद्यालय वा मध्यपश्चिम विश्वविद्यालय कहीँबाट पनि आङ्गिक हुन नसकेका कारण ओझेलमा पर्दै गएको भन्दै टोली मन्त्रीसँग सो माग गरिएको हो । 

सिँजा गाउँपालिका प्रवक्ता तीर्थ वडका अनुसार सिँजा बहुमुखी क्याम्पसलाई आङ्गिक बनाउन शिक्षामन्त्री पुनलाई भेटेर सिँजा क्षेत्रमा रहेको एक मात्र क्याम्पसलाई आङ्गिक गर्न माग गरिएको छ । भेटका क्रममा मन्त्री पुनले यो कामलाई आफूले प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो ।

१५ वर्षअगाडि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्वीकृत प्राप्त सिँजा बहुमुखी क्याम्पसलाई दरबन्दी नहुँदा समस्या भइरहेको छ । सोही कारणले दरबन्दी कायम गर्नसमेत विश्वविद्यालय अनुदान सेवा आयोगमा समेत सिँजाबाट गएको टोलीले भेट गरेको छ ।  सिँजा क्याम्पस क्याम्पस प्रमुख तीर्थ नेपालले २०६९ सालदेखि क्याम्पसले शिक्षाशास्त्र सङ्काय अन्तर्गत स्नातक तहमा अङ्ग्रेजी, नेपाली, गणित र  अर्थशास्त्र तथा व्यवस्थापन सङ्कायतर्फ मार्केटिङ तथा फाइनेन्स विषय अध्ययन, अध्यापन गर्दै आएको जानकारी दिनुभयो ।