धनगढी समाचारदाता
धनगढी, पुस १९ गते । सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसलाई उछिनेर अब नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ठुलो दल बन्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले एकता गरेर नेकपा निर्माण गरेकाले सो पार्टी प्रदेश सभामा ठुलो दल बन्ने भएको हो । प्रदेश सभामा माओवादीका १० (सभामुखबाहेक), नागरिक उन्मुक्ति पार्टीका सात र नेकपा (एकीकृत समाजवादी) पार्टीका चार प्रदेश सभा सदस्य छन् । नेकपाको सदस्य सङ्ख्या २१ पुग्ने देखिन्छ ।
हाल प्रदेश सभामा सबैभन्दा ठुलो दल रहेको नेपाली कांग्रेसका १८ जना प्रदेश सभा सदस्य रहेका छन् । तीन दल मिलेर नेकपा निर्माण गरेको कुरा बाहिर आए पनि प्रदेश सभा सचिवालयलाई भने आधिकारिक जानकारी नआएको सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताउनुभयो । “नयाँ दलको नाम र दलका नेताको आधिकारिक जानकारीसहितको पत्र आएपछिमात्रै नेकपा ठुलो दल कायम हुन्छ,” उहाँले भन्नुभयो, “सचिवालयले अहिलेसम्म साविककै तीन दल नै मानेको छ ।”
सुदूरपश्चिम प्रदेश सभामा छ राजनीतिक दल र एक स्वतन्त्रको उपस्थिति रहेको छ । स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशी कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीमा प्रवेश गर्नुभएको थियो । सो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर अगाडि बढ्ने सहमति गरिसकेकाले तत्कालीन निर्वाचनमा जितै हासिल नगरी रास्वपा सुदूरपश्चिम प्रदेश सभामा प्रवेश हुने भएको छ । जोशीले अब आफूले प्रदेश सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “तर मैले अहिलेसम्म प्रदेश सभा सचिवालयमा औपचारिक जानकारी भने गराइसकेको छैन ।”