काठमाडौँ, पुस १५ गते । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले गत आर्थिक वर्ष २०८१/८२ मा रोकिएको स्वरोजगार कर्जा वितरण गर्न लागेको छ । कोषमा झन्डै एक वर्ष कार्यकारी उपाध्यक्ष नहुँदा गत आवमा कर्जा वितरणको काम रोकिएको थियो । गत भदौमा कोषमा नयाँ कार्यकारी उपाध्यक्ष नियुक्ति भएपछि कर्जा वितरणको काम सुरु हुन लागेको हो । कोषका कार्यकारी उपाध्यक्ष अनिलराज पौडेलल गत आवमा कर्जाका लागि ४३३ सहकारी संस्थाको प्रस्ताव आएकोमा हाल अध्ययन अनुसन्धान भइरहेकाले तोकिएको मापदण्ड पूरा गरेकालाई जतिसक्दो छिटो कर्जा वितरण गरिने जानकारी दिनुभयो ।
चालु आव २०८२/८३ का लागि स्वरोजगार कर्जा वितरण गर्न एउटा सूचना प्रकाशन भएको र फेरि अर्को पनि प्रकाशन गर्ने तयारी भइरहेको कोषले जनाएको छ । चालु आवमा लागि साढे दुई अर्ब लगानी गरी ११ हजार जनालाई स्वरोजगार बनाउने लक्ष्य राखिएको कार्यकारी उपाध्यक्ष पौडेलले जानकारी दिनुभयो । पुराना रोकिएका किस्ता पनि वितरण गर्दै जाने उहाँले जानकारी दिनुभयो ।
कोष स्थापनादेखि हालसम्म १५ वर्षको अवधिमा १४ अर्ब १३ करोड ५८ लाख ३५ हजार स्वरोजगार कर्जा प्रवाह गरिएको छ । हालसम्म एक लाख नौ हजार जनालाई स्वरोजगार बनाएको कोषले जनाएको छ । बैङ्क र सहकारीमार्फत स्वरोजगार कर्जा प्रदान गरिँदै आएको छ ।
बेरोजगारलाई स्वरोजगार बनाउने उद्देश्यले कार्यालय स्थापना भए पनि अझै प्रचारप्रसार प्रभावकारी नहुँदा देशैभर कर्जा विस्तार हुन नसकेको कोषले जनाएको छ । ७७ वटै जिल्लामा कर्जा प्रवाह गर्ने लक्ष्य रहे पनि मनाङ र मुस्ताङमा सहकारी संस्था नहुँदा कर्जा प्रवाह गर्न नसकिएको कोषले जनाएको छ । हाल ७५ जिल्लामा कर्जा प्रवाह गरिएको छ ।
कोषले दुई हजार छ सय सहकारी र २० बैङ्कमार्फत युवामा कर्जा परिचालन गरेको जनाएको छ । कोषले बैङ्क तथा वित्तीय संस्थालाई ५.५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने र वित्तीय संस्थाले व्यक्तिलाई आठ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने गरेको छ । कोषका अनुसार कर्जा लगानी असुली कार्यविधि अनुसार प्रतिव्यक्ति पाँच लाख रुपियाँसम्म सुलभ कर्जा पाउने व्यवस्था भए पनि कर्जाको अभावले डेढ लाखदेखि दुई लाख मात्र वितरण गर्ने गरिएको छ ।
वार्षिक श्रम बजारमा प्रवेश गर्ने पाँच लाख युवामध्ये कम्तीमा एक लाख युवालाई वार्षिक रूपमा स्वरोजगार बनाई आत्मनिर्भर अर्थतन्त्रका माध्यमबाट राष्ट्रको विकास गर्ने कोषको कार्य रहेको छ ।
कोषले विभिन्न बैङ्कबाट विपन्न वर्ग कर्जा तीन अर्ब ८२ करोड रुपियाँ लिएर बैङ्क तथा वित्तीय संस्थामार्फत स्वरोजगार कर्जा प्रवाह गर्ने गर्छ । कर्जा प्रवाह गर्दा ६० प्रतिशत उत्पादन र ४० प्रतिशत सेवा व्यवसायमा लगानी गर्नुपर्ने
सम्झौता छ । कोषले ४२ हजार ५६३ जनालाई अभिमुखीकरण तालिम, आठ हजार ४४० लाई सिपमूलक र संस्थागत छ हजार ७५७ अनुशिक्षण तालिम प्रदान गरिएको कोषले जनाएको छ ।
२०८१ चैत मसान्तसम्म १६ करोड ८९ लाख ७० हजार ब्याज अनुदान र ८० करोड रुपियाँ ब्याज प्राप्त गरिएको कोषले जनाएको छ । ८१ हजार ५५५ जनालाई बिमा गरिएको छ । २८ हजार ९०४ जनालाई १४ करोड ४५ लाख रुपियाँ कर्जा व्यवस्थापन गरिएको छ ।
यस्तै एक हजार ३५१ जनाबाट आठ करोड २५ लाख दुई हजार बिमा क्षतिपूर्ति रकम प्राप्त भएको कोषले जनाएको छ । कोषले व्यावसायिक खेती तथा पशुपन्छीपालन, कृषि, वनजन्य तथा खानी उद्योग र बहुमूल्य पत्थर उद्योगलगायतका विषयमा तालिम प्रदान गदै आएको छ ।
स्थानीय कच्चा पदार्थ, सिपमूलक परियोजना र जुन क्षेत्रमा उत्पादन हुने हो, सोही क्षेत्रमा खपत हुने परियोजनालाई विशेष प्राथमिकता दिने कोषको लक्ष्य रहेको छ । सहर र बजार क्षेत्रमा रिक्सा, ठेलागाडा सेवा सञ्चालन तथा प्लम्बिङ सेवा र इलेक्ट्रोनिक्स सामानको मर्मतसम्भार जस्ता साना तथा घरेलु व्यवसाय एवं पसल सञ्चालनलगायतका सेवामूलक स्वरोजगार कार्यक्रमका लागि ऋण उपलब्ध गराउँदै आएको छ ।