• १४ पुस २०८२, सोमबार

करिब १३ लाख बराबरको अवैध सुर्ती बरामद

blog

सुर्ती बोकेको सवारी साधन । तस्बिर ःराधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ, पुस १४ गते ।
स्याङ्जा प्रहरीले करिब १३ लाख बराबरको अवैध सुर्ती बरामद गरेको छ । चेकचाँज गर्ने क्रममा प्रदेश ३–०१०२३ च. ८७५२ नम्बरको सुजुकी ईको भ्यानबाट बिल नभएको अवैध सुर्ती बरामद गरिएको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले वालिङ नगरपालिका वडा नम्बर–८ मालपोत चोकबाट सुर्तीसहित भ्यानलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिनुभयो ।

सुपर पावर चक्का लेखिएको सुर्तीका आठ बोरा (प्रति बोरा ५० प्याकेट जम्मा चार सय पोका), खुला अवस्थामा दुई पोका र ३६ थान गरी १२ लाख ९२ हजार एक सय १७ रुपियाँ बराबरको सुर्ती बरामद गरिएको प्रहरीको भनाइ छ ।

नियन्त्रणमा लिइएको सुर्ती र सवारी साधनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय, बुटवल रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।